२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्न शैक्षिक क्यालेण्डर बनायाे



ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्यालेण्डर बनाएर लागू गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि नगरपालिकाले वार्षिक शैक्षिक क्यालेण्डर बनाएको हो ।

गत शैक्षिकसत्रमा विद्यार्थी तथा शिक्षक डायरी वितरण गरेर सबै विद्यालयको दैनिक अध्ययन, अध्ययापनको विवरण राख्ने नीति लिएको नगरपालिकाले चालु शैक्षिक वर्षमा भित्रेपात्रो बनाएर शिक्षण सिकाईमा एकरुपता ल्याउने अभियान थालेको नगरपालिकाका शिक्षा शाखा प्रमुख फडिन्द्र कट्वालले बताए । शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाई योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर क्यालेन्डर निकालिएको उनको भनाई छ ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न सरोकारवालासँग बेलाबेलामा अन्तरक्रिया गर्ने, प्रत्येक शिक्षकले हरेक महिना शिक्षणसिकाई सुधार योजना बनाउनुपर्ने, शिक्षकले प्रधानाध्यापक र प्रअले नगरपालिकाको शिक्षा शाखासँग करार सम्झौता गर्नुपर्ने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरिएको शिक्षा शाखा प्रमुख कट्वालले जानकारी दिए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक क्यालेन्डर प्रभावकारी हुने नगरउपप्रमुख केदारबाबु बस्नेतले बताए । विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न क्यालेन्डरले सजिलो बनाउने उनको भनाई छ ।

क्यालेण्डरमा बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर र विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको छ ।

नगरले निकालेको शैक्षिक क्यालेन्डरमा श्रावण १ गते देखि २६ सम्म बर्षे बिदा, असोज २८ कार्तिक ११ गतेसम्म दशै बिदा, कार्तिक १२ गते देखि २४ गतेसम्म बर्षे बिदाबाट १३ दिन बिदा तोकिएको छ । कार्तिक २६ गतेदेखि २९ गतेसम्म तिहार बिदा तोकिएको छ ।

यसबाहेक सरकारले दिने सार्वजनिक बिदा र शनिबार गरि बर्षभरि ८१ सार्वजनिक विदा तोकिएको छ ।

बिदाको समयमा पनि विद्यार्थीलाई गृहकार्यमा प्रोत्साहित गर्नेगरि विभिन्न कार्यक्रमहरु समेटिएको छ ।

नगरपालिका भित्र रहेका ५२ वटा सामुदायिक विद्यालयहरुमा क्यालेन्डर वितरण गरिएको छ । विद्यालयहरुले शैक्षिक क्यालेण्डर अनुसारनै भर्ना अभियान सुरु गरेका छन् ।

समयमै पाठ्यपुस्तकको उपलब्धता र नगर शैक्षिक क्यालेण्डरको मार्गदर्शनले सामुदायिक विद्यालयलाई व्यवस्थित कक्षासञ्चालनमा सहजता आउने रुम्जाटार माविका प्रअ गोकर्ण बानियाले बताए । सामुदायिक विद्यालयको शिक्षालाई युग सुहाउँदो बनाउन सरकार, सरोकारवाला, विव्यस, शिक्षक र विद्यार्थी सबैले आ–आफ्नो भूमिका जिम्मेवारी पूर्वक निभाउनुपर्ने प्रअ बानियाको भनाई छ ।

स्थानीय सरकारको प्रत्यक्ष निगरानी बढेपछि सामुदायिक विद्यालयको शिक्षा विगतको भन्दा सुधार भएको आम नागरिकको बुझाई छ ।

प्रकाशित मिति : २०८०, ९ बैशाख शनिबार ००:००  ११ : २७ बजे