२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा कमल तामाङ नेतृत्वको स्थानीय सरकारले पहिलो वर्ष के गर्यो ?



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले एक बर्षे कार्यप्रगति सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष कमल तामाङले निर्वाचित भएको पहिलो बर्षमा गरेका कामबारे जानकारी गराएका हुन् ।
पालिकामा भएगरेका कामबारे नागरिकलाई सुसुचित गराउने उद्धेश्यले पत्रकार सम्मेलन गरिएको उनले बताए । कार्यक्रममा अध्यक्ष तामाङले पहिलो बर्ष सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर कामहरु भएको बताएका छन् ।
सडक, शिक्षा, स्वास्थ्य, स्वरोजगार र सामाजिक विकासमा धेरै कामहरु भएको उनले बताए । उनका अनुसार पुर्वाधार विकासमा पालिकाभित्रका सडकहरुको स्तरोन्नति, पालिका स्तरीय कभर्ड हल र खेल मैदान निर्माण, गाउँपालिकाको प्रशासकीय भवन निर्माण, विद्यालय र स्वास्थ चौकी भवन निर्माण लगायतका काम भएका छन् ।
पालिकाको वडा नम्बर ८ र १० मा मलामी विश्रामघर पनि निर्माण गरिएको छ । गाउँपालिकामा पाँच शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।
खानेपानीको समस्या दिगो समाधानका लागि विभिन्न आयोजनाहरु सञ्चालनमा रहेको र केहि योजना सम्पन्न भइसकेको अध्यक्ष तामाङले उल्लेख गरे ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग नियमित अन्तरक्रिया, विद्यालय अनुगमन र विद्यार्थी प्रोत्साहनका कार्यक्रम गरिएको उनको दावी छ ।
गाउँपालिका भित्र रहेका ४० वटै विद्यालयका कक्षा १ देखि ५ सम्मका बालबालिकालाई टिफिन क्यारी वितरण गरिएको उनले जानकारी गराए । विद्यार्थीहरुलाई घरकै खानेकुरा विद्यालयमा ल्याएर खान प्रोत्साहनको लागि उक्त कार्यक्रम गरिएको उनको भनाई छ ।
पालिकाका नागरिकलाई सहज स्वास्थ सेवा पहुँचको लागि बेलाबेलामा निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने, स्वास्थ चौकी र स्वास्थ इकाईका सेवालाई चुस्त दुरुस्त राख्ने, अस्पतालको पुर्वाधार विकासमा पहल लगायतका काम पालिकाले गरेको छ ।
विद्याुतिकरणको कामलाई तिब्रता दिएको गाउँपालिकाले पालिकाको प्रत्येक वडामा इन्टरनेट सेवा विस्तार गरेको छ ।
युवायुवतिलाई स्वरोजगार बनाउन सिःशुल्क सिप प्रदान गर्नुको साथै बृद्धबृद्धालाई स्वास्थ जाँच गर्ने व्यवस्था मिलाएको छ भने जेष्ठ नागरिकलाई हटब्याग र लौरो पनि वितरण गरेको उनले बताए ।
पालिकामा सञ्चालन भएका विकास योजनालाई गुणस्तरीय र दिगो तथा पारदर्शी बनाउन निरन्तर अनुगमन गरिएको उनको भनाई छ । न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन समितिका पदाधिकारी र सदस्यलाई तालिम दिइएको उनले बताएका छन् ।

आफुले पाउने सेवा सुविधा वापतको रकम विद्यालयलाई दिने अध्यक्ष तामाङको घोषणा

कार्यक्रमकै अवसरमा अध्यक्ष तामाङले आफुले पाउने सेवा सुविधा वापतको रकम विद्यालयहरुलाई दिने घोषणा गरेका छन् ।
मासिक रुपमा पाउने ४४ हजार बाट गाडीको सुविधा वापत कटिने दश हजार बाहेक प्रत्येक महिनाको ३४ हजारका दरले जम्मा भएको चार लाख आठ हजार रकम पालिकाका चार विद्यालयलाई सहयोग गर्ने बताएका हुन् ।
प्रति विद्यालय एक लाख दुई हजारको दरले कालिका आधारभूत विद्यालय मूलकखर्क, कालिका माध्यमिक विद्यालय कोषभञ्ज्याङ्ग, कुशादेवी मावि कटुञ्जे र जगत जननी मावि मानेडाँडालाई दिइने उनले बताए ।
विद्यालयमा फर्निचरका समाग्री उपलब्धतामा सहयोग पुगोस भनेर आफुले उक्त रकम दिने प्रतिवद्धता गरेको अध्यक्ष तामाङको भनाई छ । आगामी बर्षहरुमा क्रमश अरु विद्यालयलाई सहयोग गर्ने उनले प्रतिवता जनाएका छन् ।
पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले समानता र पारदर्शितामा जोड दिदै विकासका कार्यक्रमहरु अघि बढेको दावी गरिन् । पालिकाका १० वटै वडाका वडा अध्यक्षहरुले पनि आ–आफ्नो वडामा भए गरेका कामबारे जानकारी गराएका थिए ।
आगामी आर्थिक वर्षको बजेटमा नागरिकका जनचाहना अनुसार उत्पादन र रोजगारमुलक कार्यक्रमलाई विशेष जोड दिने गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् ।

प्रकाशित मिति : २०८०, ७ जेठ आइतबार ००:००  ५ : ०४ बजे