काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मानव जातिको महत्वाकांक्षाले बढ्दै गएको प्रकृतिको दोहनले चुनौती बढेकाले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने बताएका हुन्।
राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ,’ शुभकामना सन्देशमा उल्लेख छ,’विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ।’
राष्ट्रपति पौडेलले प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिकजन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको बताए।
उनले वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको बताए।