२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेन विरुद्ध यातायात व्यवसायी आन्दोलित

उपत्यका बाहिरका सयौं यात्रु समस्यामा पर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णय विरुद्ध यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । असार १ गतेदेखि उपत्यका बाहिर जाने सबै यातायात गोङ्गबु बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं महानगरपालिकाको बाध्यकारी निर्णय विरुद्ध सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका हुन् ।

महानगरपालिकाले काठमाडौं उपत्यकाबाट बाहिर जाने लामो तथा छोटो दुरीका सम्पूर्ण यात्रुवाहक बसहरू नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने र उपत्यका भित्रिने सवारीले पनि नयाँ बसपार्कमा मात्रै यात्रु ओराल्न पाउने नयाँ नियम असार १ गतेबाट लागू हुने व्यहोराको सूचना केही दिनअघि जारी गरेको थियो । नयाँ बसपार्कबाट छुट्ने सवारीलाई बाटोमा रोकेर यात्रु चढाउन वा ओराल्न नदिने महानगरको तयारी छ ।

नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्रै यातायात सञ्चालन गर्न र लामो दुरीका सवारी महानगरपालिका भित्र कलंकीदेखि जडिबुटीसम्म रोक्न निषेध गर्ने महानगरले निर्णय गरेको छ ।

यो निर्णय कार्यान्वन भए राजधानी पूर्वका यात्रुहरू मारमा पर्ने छन् ।

कोटेश्वर, गौशाला, चावहिलबाट यसअघि यात्रा गर्दै आएका यात्रुअरु असार १ गतेबाट बस चढ्न नयाँ बसपार्क पुग्नुपर्ने भएको छ । उपत्यका बाहिरबाट आएका यात्रुपनि गोङ्गबुस्थित नयाँ बसपार्कमै उत्रिनुपर्नेछ ।

महानगरपालिकाको यो निर्णयले यात्रुलाई आर्थिक भार र सकस थपिने पूर्व अरनिको यातायात प्रालि चावहिल बुकिङ शाखाका इन्चार्ज बेदप्रसाद घिमिरे बताउँछन् । ‘म यातायात क्षेत्रको  कर्मचारी मात्रै होइन सार्वजनिक यातायातको यात्रु पनि हुँ । हरेक कोणबाट हेर्दा महानगरपालिकाको यो निर्णय अव्यवहारिक छ ।’ उनले भने, ‘कोटेश्वर–चावहिलबाट बस चढ्ने यात्रु नयाँ बसपार्क नै नपुगि नहुने अझ टिकट काट्न पनि गोङ्गबु पुग्नैपर्ने हुँदा यात्रुको ओखलढुंगा–रामेछाप पुग्ने खर्च यतै काठमाडौंमा ट्याक्सी चढेर बस भेट्न पुग्दा नै सकिन्छ । कोटेश्वर–चावहिलमा ओर्लने यात्रुलाई पनि बसपार्क पुराउने नियम यात्रुको हित विपरित छ ।’ अव्यवहारिक निर्णयको जनस्तरबाटै विरोध गर्नुपर्ने उनको तर्क छ ।

व्यवसायी आन्दोलित :

महानगरपालिकाको निर्णय विरुद्ध यातायात व्यवसायीहरु संगठित भएर आन्दोलन सुरु गरेका छन् । पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षत्रीको नेतृत्वमा संगठित व्यवसायीहरुले यात्रु, मजदुर र व्यवसायीहरुको हित विपरितको यो निर्णय कार्यान्वयन नगर्ने   सम्मको तयारी गरेका हुन् ।

नयाँबसपार्कमा रहेको निजी क्षेत्रबाट सञ्चालित ल्होत्से बसपार्कबाट मात्रै टिकट काट्नु पर्ने र त्यहाँबाट मात्रै सवारी सञ्चालन गर्नुपर्ने नियम लागू गराउन खोज्नु निश्चित व्यवसायीको चलखेल भएको भन्दै यो अव्यवहारिक निर्णय सच्याउन माग गरिएको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले बताए । ‘केही व्यक्तिको इसारामा नीजि बसपार्कलाई पोस्नेगरि महानगरले गरेको निर्णय कार्यान्वयन हुन सक्दैन । राज्यले बसपार्क बनाएर व्यवस्थापन गर्न नसके हामी आफैं बसपार्क बनाउँछौं भनेका छौं तर अनेक नियम लगाएर अवरोध गर्न मिल्दैन ।’ क्षेत्रीले भने । ‘जडिबुटीमा पूर्व अरनिकोले करोडौं खर्च गरेर आफ्नै बसपार्क बनाउँदैछ । आवश्यक भए अरु ठाउँमा पनि व्यवस्थापन गर्छौं तर नयाँ बसपार्क नै जानुपर्ने त्यहि बसपार्क मात्रै प्रयोग गर्नुपर्ने भन्ने निर्णय स्विकार्य छैन ।’ उपत्यकाबाट बाहिरिने चारवटै नाकाबाट दैनिक हजारौं बस छुट्ने भएकाले चारै नाकामा सहज हुनेगरि बसपार्क व्यवस्थापन गर्न अध्यक्ष क्षेत्रीले महानगरलाई सुझाव दिएका छन् ।

यातायात व्यवसायी र मजदुरहरूले भने ल्होत्से मार्फत सञ्चालन भएको गोङ्गबु बसपार्कबाट मात्रै यात्रु बसहरु छुटाउने नयाँ नियम ल्होत्सेका सञ्चालकहरूलाई आर्थिक लाभ हुने गरेर  ल्याएको आरोप लगाएका छन् ।

एउटा बस प्रवेश गरेबापत ल्होत्सेले १ हजार असुल्ने गरेको छ ।

यातायात क्षेत्रका सबैजसो मजदुर संगठन र सरोकारवालाहरुले समेत महानगरपालिकको यो निर्णयको विरोध जनाएका छन् ।

प्रकाशित मिति : २०८०, २५ जेठ बिहीबार ००:००  ५ : ४४ बजे