२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्कालीन नेकपा ब्यूँताऔं : नेता नेपाल



काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।

शनिवार शनिवार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए ।

उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको बताए ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए ।

उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसी नरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरूले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।

उनले भने, ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसै कसैलाई लागेको छ, एमाले, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ । आउनुहोस्, प्रचण्ड जीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ ।’

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए । उनले राजावादीहरूले टाउको उठाउने कोसिस गरेपनि सफल हुन नदिने बताए ।

प्रकाशित मिति : २०८०, २७ जेठ शनिबार ००:००  ७ : ३६ बजे