२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख गनाउने समस्या छ ? यसरी गर्नुहाेस् उपचार



मुख गनाउने समस्याबाट बच्न नियमित सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्छ । साँझ–बिहान राम्रोसँग दाँत माझ्ने, जिब्रो सफा गर्ने, दाँतमा किरा वा प्वाल परेको छ भने उपचार गर्नुपर्छ । पानीको कमी हुँदा मुख र पेट सुक्खा हुन्छ । जसको प्रभाव मिर्गौला, कलेजो र आँतमा पर्छ र मुखबाट दुर्गन्ध आउन सक्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

केही मानिसको मुखबाट सधैँ दुर्गन्ध आउँछ । जसकारण उनीहरू अन्य मानिसको नजिक पर्न पनि गाह्रो मान्छन् । सभा–सम्मेलन वा कुनै कार्यक्रममा जानुपर्दा उनीहरूलाई सकस पर्ने गर्छ । यसले आत्मविश्वासमा कमी ल्याउँछ । मेडिकल भाषामा हालिटोसिस भनिने यो समस्या तपाईंको खराब जीवनशैली वा अन्य कुनै स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ । सामान्यतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा वा खानपानको गडबडीले मुख गनाउने गर्छ । तर, कतिपय मानिसमा नियमित सरसफाइका बाबजुद पनि सास र मुख गनाइरहेको हुन्छ । मुख गनाउने समस्या फोक्सोको संक्रमण, मधुमेह, मिर्गौलामा समस्या, कलेजोको संक्रमणलगायत गम्भीर रोगको संकेत पनि हुन सक्छ ।

किन गनाउँछ ?

  • मुखमा घाउ, खटिरा आएमा, गाँठागुठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा वा खाल्डो परेमा, दाँत राम्ररी सफा नभएमा, दाँतको काप वा मुखमा फोहोर जम्मा भएर बसेमा पनि सास गनाउने गर्छ ।
  • अपचका कारण पनि मुख गनाउँछ । केही खानेकुरा चाँडै पच्दैनन् । आवश्यकताभन्दा धेरै खाँदा, मैदाबाट बनेका र मसलेदार खानेकुराले पाचनतन्त्रमा गडबडी हुन सक्छ ।
  • लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसको मुखबाट नराम्रो गन्ध आउने गर्छ । यस्ता मानिसमा मुखको क्यान्सर हुने जोखिम रहन्छ । फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ । कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम गर्न सक्दैन र अपचको समस्या उत्पन्न हुने गर्छ ।
  • मिर्गौलाको समस्या हुँदा पनि मुख गनाउन सक्छ । कानको संक्रमण, घाँटीको संक्रमण, श्वासप्रश्वासको समस्याले पनि मुख गनाउँछ । ग्यास्ट्रिकका बिरामीमा पनि अमिलो डकार आउँदा सास गनाउन सक्छ । प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ खाँदा पनि मुख गनाउँछ ।

मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । यसले पनि मुख गनाउँछ ।

के गर्ने ?

  • खानपानमा ध्यान दिनुपर्छ । जंकफुड, अधिक मसला भएका खानेकुरा, सोडा वा काँचो खानेकुरा खानुहुँदैन । यसले कब्जियतको समस्या हुन सक्छ । पौष्टिक आहार लिनुपर्छ, राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।
  • साँझ–बिहान राम्रोसँग दाँत माझ्ने । जिब्रो सफा गर्ने । दाँतमा किरा लागेको र प्वाल परेको छ भने उपचार गर्ने । मुखको कुनै रोग भए उपचार गर्ने ।
  • पानीको कमी हुँदा मुख र पेट सुक्खा हुन्छ । जसको प्रभाव किड्नी, कलेजो र दाँतमा पर्छ र मुखबाट दुर्गन्ध आउन सक्छ । त्यसैले प्रशस्त मात्रा पानी पिउनुपर्छ ।
  • धेरै गुलियो खाद्यपदार्थ नखाने । यदि खाइहालेमा खानेबित्तिकै मुख कुल्ला गर्ने । धूम्रपान, मद्यपान नगर्ने । खानेकुरा खाइसकेपछि राम्रोसँग मुख कुल्ला गर्ने ।
  • ६–६ महिनामा दन्त चिकित्सककोमा गई परीक्षण गर्ने । सास गनाएमा चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।

केही प्राकृतिक उपाय
ग्रिन टीमा एन्टिअक्सिडेन्ट भरपूर मात्रामा हुन्छ । यसले सासको दुर्गन्ध टाढा गर्न मद्दत गर्न सक्छ । पुदिनाको पत्ता चपाउनाले पनि मुखको दुर्गन्ध कम हुन्छ । ल्वाङमा एन्टिब्याक्टेरियल गुण हुन्छ, यसले दुर्गन्धबाट छुटकारा दिलाउन मद्दत गर्न सक्छ । अनारको दानालाई उमाल्नुस् र पानी छानेर कुल्ला गर्नुस् । यसले बिस्तारै सासको दुर्गन्ध हटाउन सहयोग गर्छ । तुलसीको पात चपाउनेले पनि मुखको दुर्गन्ध कम गर्न मद्दत गर्छ । सुक्खा धनियाँलाई पनि माउथ फ्रेसनरका रूपमा प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित मिति : २०८०, ३ असार आइतबार ००:००  २ : ५४ बजे