२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतारा साँगाचोकगढीको नगरसभामा कांग्रेस र एमालेकाे अवरोध



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको १४ औं नगरसभा एमाले र कांग्रेसका सदस्यहरुका अवरोधका बीच सम्पन्न भएको छ ।

नगर सभामा नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले एकलौटी गरेको भन्दै कांग्रेस र एमालेबाट निर्वाचित आठ वडाध्यक्षहरु विरोधमा उत्रिएका थिए । चौतारा साँगाचोकगढी नगरपालिकाको १४ औं नगरसभा सुरु हुनासाथ नाराबाजी सुरु भएको थियो ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरको आगामी वर्षको नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्न उपप्रमुख सीता थापालाई समय दिए लगत्तै कांग्रेस र एमालेबाट निर्वाचित आठ वडाका प्रतिनिधिहरुले नाराबाजी सुरु गरेका थिए ।

कार्यपालिकाको बैठक समेत बहिस्कार गरेका कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले नगरसभा सुरु हुन साथ उठेर नाराबाजी गरेका थिए । विरोधका बीचमा पनि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।

१४ औ नगरसभाले १ अरब २४ करोड रुपियाँको बजेट पारीत गरेको मेयर कृष्णप्रसाद सापकोटाले बैठकमा जानकारी गराउँदै, नीति कार्यक्रम र बजेट पास भएको घोषणा गरेका थिए ।

वडागत रुपमा पठाइएको बजेट सिलिङमा विभेद गरिएको,आफ्ना कार्यकर्ता पोस्नका लागि तोक आदेशमा बढी बजेट राखिएको भन्दै कांग्रेस र एमाले बाट निर्वाचित वडाध्यक्षहरु विरोधमा उत्रिएका थिए । हातमा कालो पट्टी बाँधेर वडाध्यक्षहरुले विरोध गरेपनि नगरसभाबाट नीति र कार्यक्रम पेलेरै पास गरिएको थियो ।

अबरोधका बीच पनि उपप्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको र प्रस्तुतपछि नगर प्रमुख कृष्ण प्रसाद सापकोटा केही दिनभित्र थप छलफल गरी नीति, कार्यक्रम र वजेट अनुमोदन गर्ने जानकारी गराए ।

असक्षम नगर सल्लाहकारले नगरपालिकाको वजेट निर्माण गरेको, समानान्तर सरकारको अभ्यास गरेको, बिषयगत बजेट ब्रेकडाउन नगरी बजेट प्रस्तुत गरेको, वडाको लागि दुई करोड बजेट सिलिङ कायम गर्नुपर्ने लगायतका मागसहित एमाले कांग्रेसका प्रतिनिधिहरुले नाराबाजी गरेका थिए । आफ्ना मागहरु सम्बोधन नभए निरन्तर आन्दोलन गर्ने वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, ८ असार शुक्रबार ००:००  ६ : ४३ बजे