२०८३, १४ असार आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा आलु र प्याजमा आत्मनिर्भर हुने



काठमाडाैं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित गरेको छ ।

दोस्रो नगर सभाको तेस्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र पूर्वाधारलाई प्राथमिकता दिएको बजेट सार्वजनिक गरेका छन् ।

तिलोत्तमाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि बिशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गर्ने र बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले भूमि बैंक बनाई सार्वजनिक तथा नदी उकास जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह आदिलाई तुलनात्मक लाभ बढी हुने फलफूल तरकारी खेती गर्न प्रोत्साहन गर्ने बताएको छ ।

सामूहिक खेती अपनाउने समूहलाई जोताइमा ५० प्रतिशत अनुदान दिने, पशुहरुमा देखिएको लम्की स्किन रोगविरुद्ध ७ हजार खोप लगाउने, विशेषज्ञ पशु चिकित्सक सहितको भेट एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एक महिला विद्यालय सञ्चालनमा ल्याउने, विद्यालयमा सिर्जनशील शुक्रबार कार्यक्रम सञ्चालन गरिने तिलोत्तमाको घोषणा छ ।

त्यस्तै तिलोत्तमा–१० को सेमरा स्वास्थ्य केन्द्रलाई मातृ शिशु अस्पतालमा स्तरोन्नति गर्ने, खाना फ्याक्न नपाइने नीति लागु गर्ने, मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, विभिन्न सुपर मार्केटसंग सम्झौता गरी तिलोत्तमाको उत्पादन बिक्री गर्ने पनि घोषणा गरिएको छ ।

प्रत्येक वडामा एक किलोमिटर सडक अस्फाल्ट प्रविधिमा कालोपत्रे गरिने, डिजल, पेट्रोल, खाना पकाउने ग्यासको खपत कम र बिजुलीको खपत बढाउने, नगरको ६ लेन सडकको उपयुक्त स्थानमा विद्युतीय चार्जिङ स्टेशन राख्ने नगरपालिकाको नीति छ ।

१७ वटै वडाका प्रमुख रणनीतिक स्थानमा मिनी–मास्ट बत्ती जडान गर्ने, शंकरपुर चोकदेखि नगरपालिका कार्यालयसम्म निशुल्क ई–रिक्सा सञ्चालन गर्ने, नगर बस सञ्चालन गर्ने पनि नगरपालिकाको घोषणा छ ।

प्रकाशित मिति : २०८०, १० असार आइतबार ००:००  ७ : ५१ बजे