२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशकै दुर्गम बिच्छ्या गाउँलाई सडक सञ्जालमा जोड्दै हिमाली गाउँपालिका



धुलाचाैर । बाजुराको हिमाली गाउँपालिकाले देशकै दुर्गमगाउँ मानिने बिच्छुयालाई सडक सञ्जालमा जोड्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०-०८१ को निति तथा कार्यक्रममा बिच्छ्यालाई सडक सञ्जालमा जोड्ने नीति पास भएको हो ।

पालिकाको १२ औं गाउँसभाले यो नीति पास गरेसँगै अब बिच्छ्यामा मोटरबाटो पु¥याउने काम सुरु हुनेछ । भौगोलिक विकटता र दुर्गम क्षेत्र भएकाले पालिकाको सिमित स्रोतले मात्रै बिच्छ्या क्षेत्रमा सडक सञ्जाल लैजान समस्या हुनेभएकाले पालिकाको अगुवाइमा प्रदेश र संघ सरकार तथा अन्य दातृ निकायसँग समन्वय गरिने गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । ‘विच्छ्याका जनता असाध्यै पछाडि परेका छन् । त्यहाँसम्म सडक सञ्जाल लैजाने योजना अघि बढाएका छौं । सबै निकायसँग समन्वय गरेर बिच्छ्यामा सडक पुर्याउँछौं ।’ अध्यक्ष मल्लले भने, ‘यो वर्षको नीति, कार्यक्रम र बजेट सबै क्षेत्र र वर्गलाई समेटेर ल्याएका छौं ।’ पालिकाका सबै वडामा सडकको सहज पहुँच विस्तार गर्ने योजना रहेको अध्यक्ष मल्लको भनाई छ ।

बिच्छ्या क्षेत्रमा सडकको पहुँच नहुँदा नागरिकलाई सास्ती छ । दैनिक उपभोग्य सामाग्री भेडा च्याङ्ग्रालाई बोकाउने वा मानिसले नै कुवाडीबाट बोकेर घर लैजानुपर्ने बाध्यता छ । सहज ढुवानी नहुँदा विकास निर्माण समेत प्रभावित बन्दै आएको छ ।

बिच्छ्या क्षेत्रका स्थानीय आफ्नै पालिकाको केन्द्र पुग्न समेत छिमेकी जिल्ला हुम्ला घुमेर जानुपर्ने वा २ दिन लगाएर पैदल यात्रा गर्नुपर्ने बाध्यतामा छन् । पैदलयात्रा गर्ने बाटाे समेत सहज छैन ।

१ महिनाअघि बिच्छ्या पुगेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल र उपाध्यक्ष राजकला सार्कीसहितका जनप्रतिनिधिले बिच्छ्यामा मोटरबाटो ल्याउन पहल गर्ने बचन दिएका थिए ।

पालिकाले बिच्छ्यामा मोटरबाटो लैजाने नीति ल्याएसँगै स्थानीय खुसी भएका छन् । स्थानीय सरकारले आफुहरुको समस्या बुझेको भन्दै सडक आएपछि गाउँसमृद्ध बन्ने बिच्छ्याकी सञ्चकला रोकाया बताउँछिन् ।

खच्चडसमेत आउन नसक्ने गाउँमा मोटरबाटो ल्याउने गाउँपालिकाको योजनाले नागरिक उत्साहित बनेका छन् । गाउँपालिकाको नीति अनुसार काम भए दुर्गम गाउँका जनतामा खुसी छाउने हिमाली गाउँपालिका १ बाँधुका स्थानीय अगुवा धिरलाल रोकाया बताउँछन् । ‘मान्छेका घरभित्र गाडी पुगेका छन् । हाम्रा गाउँमा खच्चडपनि आउँदैन यहाँ भन्दा दर्द अरु के होला ? तर हिमाली गाउँपालिकाले बिच्छ्या मोटरबाटो ल्याउने नीति ल्याएछ यहाँका हामी जनता एकदमै खुसी छौं ।’ गाउँमा मोटरबाटो आए बिच्छ्या गाउँ गरिबीको रेखामुनीबाट माथि उठ्ने उनको भनाई छ ।

बाजुराको हिमाली गाउँपालिका अझ बिच्छ्या क्षेत्र मानव विकासको सुचकांकमा देशमै पछि परेको क्षेत्र हो ।

याे समाचार पनि पढ्नुहाेस् ।

प्रकाशित मिति : २०८०, ११ असार सोमबार ००:००  ११ : २५ बजे