ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले विदेश नजाऔं गाउँमै कमाऔं घरमै रमाऔं अभियान चलाउने भएको छ । स्थानीय स्तरमै स्वरोजगारीको अवसर प्रदान गरेर युवाशक्ति विदेश पलायन हुनेक्रमलाई रोक्न पालिकाले यो अभियान चलाउने भएको हो ।
गाउँपालिकाको १३ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष कमल तामाङले युवालाई सिपसँग जोडेर समद्धि यात्रा तय गरिने बताए । विदेश नजाऔं गाउँमै कमाऔं घरमै रमाऔं भन्ने अभियान अन्तरगत युवालाई सिप र आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेर व्यवसायमा प्रोत्साहन गरिने बताए ।
अध्यक्ष तामाङले प्रस्तुत गरेको लोकप्रिय कार्यक्रमसहितको नीति तथा कार्यक्रममा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, जेष्ठ नागरिकसँग अध्यक्ष देखि सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमसम्म समेटिएका छन् ।

सुनकोशी गाउँपालिकाले बसाइसरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको १३ औं गाउँसभाले बसाईसरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने नीति पारित गरेको हो ।
उज्यालो सुनकोशी अभियान आगामी वर्ष पुरा गरिने भएको छ । आगामी आर्थिक वर्षभित्र सबै घरघरमा विद्युत पुर्याइने नीति कार्यक्रममा उल्लेख छ । जनता खानेपानी कार्यक्रम चलाएर एकघर एक धारा अभियान अन्तरगत सबै घरघरमा स्वच्छ पानी उपलब्ध गराईने छ ।
कृषि उपजकाे बजारीकरणमा स्थानीय तहले सहजिकरण गर्ने भएकाे छ ।
कृषि क्षेत्रमा लगानी बढाउने, शिक्षामा गुणस्तर वृद्धि गर्ने, स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँटोलमा स्वास्थ्य इकाई स्थापना गर्ने, क्यान्स पीडितको उपचारका लागि शिविर चलाउने, जिविकोपार्जनका लागि घुम्ती कोष सञ्चालन गर्नेलगायतका नीति कार्यान्वनका लागि उपाध्यक्ष सुनिता अधिकारीले आगामी वर्षको बजेट प्रस्तुत गरेकी थिइन् ।

सुनकोशीमा गर्भवती महिलालाई फोनिङ कार्यक्रम सञ्चालन हुने भएको छ । पालिकाभित्रका सबै गर्भवती महिलालाई समयमै गर्भजाँच गराउन र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थाका इन्चार्जहरुले गर्भवतीलाई फोन गरेर स्वास्थ्य संस्था बोलाउने कार्यक्रम राखिएको हो । उपाध्यक्षसँग सुत्केरी कार्यक्रम चलाएर सुत्केरी आमा र नवजात शिशुलाई पोष्टीक आहार कोशेली दिने कार्यक्रम राखिएको छ । जेष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रमले निरन्तरता दिइएको छ ।
सुनकोशी गाउँपालिकाले मृत्यु संस्कार खर्च ५ हजार दिने कार्यक्रमलाई निरन्तरता दिएको छ । सुनकोशीमा विगतदेखि सञ्चालनमा रहेको मृत्यु संस्कार खर्चलाई निरन्तरता दिँदै पोष्ट मार्टम गर्नुपर्ने भएमा यातायात खर्च बापत पालिकाले ५ हजार खर्च दिने भएको छ ।
सुनकाेशीले आगामी वर्षका लागि ६० करोड ७१ लाख रुपैंया बराबरको बजेट ल्याएको छ ।