काठमाडौं । बसाइँ सरेर आउनेलाई घर उपहार दिने घोषणा गरेका मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घर उपहार लिनको घुइँचो लाग्ने अपेक्षा गरिएको बताएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना ल्याएको उनको भनाई छ ।
घर उपहार दिने निर्णयले देशभर चर्चा पाएपछि अनलाइन सरोकारसँग कुरा गर्दै अध्यक्ष मल्लले भने, ‘घर उपहार लिनेको घुइँचो लाग्ने अपेक्षा छ । अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ ।’ घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुने अध्यक्ष मल्लले बताए ।
दुर्गम राक्सिराङको विकास गरेर सुगम बनाइए पनि जनसंख्या घट्दो अवस्थामा रहेकाले जनसंख्या बढाउन र बसाइँ सरेर जानेको संख्या घटाउन उक्त नीति लिइएको उनको भनाई छ ।