काठमाडौं । बाग्लुङको तमानखोला गाउँपालिकाले किसानलाई उत्पादनमा अनुदान दिने भएको छ । तमानखोलाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनले ‘कृषकको उत्पादन साथमा : तमानखोलाको अनुदान हातमा’ भन्ने निती पास गरेको हो ।
कृषि मार्फत नागरिकलाई स्वरोजगार बनाउन कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले १३५ बुँदाको ‘सुखी र समान, समुन्नत तमान’ को महत्वकांक्षी लक्ष्य पुरा गर्ने निती कार्यक्रम प्रस्ततु गरेका छन् ।

गाउँपालिकाले उत्पादन र बजारीकरणका आधारमा अनुदान दिने कार्यक्रमलाई जोड दिएको छ । तमानखोलामा उत्पादन हुने रैथाने बाली सिमी, तोरी, आलु, टिमुर तथा फलफुलमा स्याउ, किवि र कागती त्यसैगरि मासुमा स्थानीय कुखुरा, खसी, बंगुर र राँगा उत्पादन र विक्रिका आधारमा १० प्रतिशतसम्म अनुदान दिइने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
कृषिको उत्पादन, व्यवस्थापन एवं बजारीकण गर्ने, प्रत्यक वडामा कृषि संकलन विस्तार, उत्पादकत्व बृद्धिमा जोड, कृषकलाई तालिमको व्यवस्था गरिने भएको छ ।
त्यस्तै पालिका भित्रका सरकारी निजी वा बाँझो गज्जालाई अनिवार्य उपयोग गर्न चक्लाबन्दी वा सामुहिक खेती प्रणाली अपनाईने र जग्गा बाँझो वा खाली राख्नेलाई डण्डीत गर्ने कार्यक्रम ल्याएको छ ।