कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा विवादमा तानिएका छन् । विवादकाबीच मुख्यमन्त्री बनेका थापाले आज थप मन्त्रीमण्डल विस्तार गरेका छन् । गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गरेकाे भन्दै विवाद सुरु भएकाे हाे ।
आज माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका हुन् । यसअघि शुक्रवार कमल प्रसाद जवेगु र प्रदीप सुनुवार मन्त्री नियुक्त भएका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
गठबन्धन दलहरूबिच एकाएक जना मात्रै मन्त्री बनाउने सहमति भए पनि त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गरेका नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए । उनले भने, ‘हामीले सबै दलबाट एक एक जना मात्रै मन्त्री बनाउने सहमति गरेका थियौँ । तर, त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गर्नुभयो । यसमा हाम्रो आपत्ति छ ।’ उनले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् । ‘यस्तै गरिरहने हो भने हाम्रो सहकार्य अघि बढ्न सक्दैन, विश्वासको मत पनि दिँदैनौ ।’