२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रञ्जन कोइरालाको मुद्दामा आज सुनुवाइ हुने



काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज (आइतबार)सुनुवाइ हुने भएको छ । कोइरालाको कैद कटौती गर्ने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले बिहीबार दर्ता गरेको पुनरावलोकन निवेदन आइतबारका लागि पूरक पेसीमा चढिसकेको छ ।

जिल्ला र पुनरावेदन अदालतले तत्कालीन डीआईजी कोइराला पत्नी हत्यामा संलग्न रहेको ठहर गरी सर्वस्वसहित जन्मकैद सजाय तोकेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले भने आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला गत बिहीबार कारावासमुक्त भएका थिए ।

संयुक्त इजलासको फैसलाविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतका तीन जना न्यायाधीशले सुनुवाइ गर्ने प्रावधान छ । फैसलामा गल्ती भएको लागेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निस्सा अर्थात् अनुमति दिनेछ ।

सर्वोच्च अदालत नियमावलीको नियम २७ अनुरूप पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय हुनेछ । फैसला उचित र जायज ठहरिएमा भने सुनुवाइको च्याप्टर यहीँनेर समाप्त हुने जनाइएको छ । २०६८ पुस २७ गते तत्कालीन डीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरी प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आइतबार ००:००  ३ : ५१ बजे