२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक विकासका लागि अब्बल योजना बनाउँदै भोटेकोशी

आफ्नै पाठ्यक्रम र १० वर्षे शैक्षिक योजना बनाइने



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले १० वर्षे शैक्षिक योजना बनाउने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी सुधार गर्ने विशेष लक्ष्य अनुरुप गाउँपालिकाले १० वर्षे शैक्षिक योजना निर्माण गर्ने भएको हो ।

चालु आर्थिक वर्षमा भोटेकोशी गाउँपालिकाको १० वर्षे शैक्षिक योजना निर्माण गरी आवश्यकताका आधारमा प्राथमिकिकरण गर्दै हावापानी सुहाउँदो दिगो विद्यालय तथा शिक्षालयको विकास गर्ने नीति गाउँसभाले पारित गरेको छ ।

गाउँपालिकाले भोटेकोशीको पहिचानलाई विकास तथा विस्तार गर्न स्थानीय पाठ्यक्रम ‘हाम्रो गौरव, हाम्रो भोटेकोशी’ निर्माण गरेर शैक्षिक सत्र २०८१ देखि नै कायान्वयनमा ल्याइने गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । उच्चशिक्षा अध्ययन गर्न अन्यन्त्र जानुपर्ने परिस्थितीको अन्त्य गर्न गाउँपालिकाभित्र स्नातक सम्मको भोटेकोशी क्याम्पस सञ्चालन गर्न समेत पहल गरिने उनको भनाई छ ।

शैक्षिक विकासलाई उच्च प्राथमकिता दिएको भोटेकाशी गाउँपालिकाले हरेक विद्यालयमा प्रारम्भिक वाल कक्षाको व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी भर्ना गर्ने, सक्षम शिक्षक, सवल सिकाइ कार्यक्रम मार्फत शिक्षकहरुलाई नियमित तालिमको व्यवस्था गर्ने, जहाँ विद्यार्थी, त्यहाँ शिक्षक अभियान चलाउने, अनलाइन कक्षा सञ्चालनमा सहजता ल्याउन यसैवर्ष सबै विद्यालयमा फाइवर नेटको पहुँच सुनिश्चित गर्ने, पालिकास्तरमा स्मार्ट विद्यालय स्थापना गर्नेलगायतका नीति अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ४ श्रावण बिहीबार ००:००  ३ : १७ बजे