पर्साको ठोरी गाउँपालिकाले सडक आसपासमा मापदण्ड विपरित बनाइएका संरचनामा डोजर चलाएको छ । सडकमिचेर स्थानीयले बनाएका संरचना भत्काउन गाउँपालिकाले डोजर चलाएको हो ।
प्राविधिकबाट नापजाँच गर्दा सडक मिचेर बनाइएका संचरना भत्काइएको तर ठुला संरचना त्यसमा नपरेको गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । ‘मुख्यसडकमा समस्या छैन । भित्री सडकहरुमा नापजाँच गर्दा केही स–साना संरचनाहरु घरका पर्खाल, पाली, गेटलगायत केही संरचना भत्काउनुपर्यो त्यसमा स्थानीयले साथ दिनुभयो ।’ अध्यक्ष श्रेष्ठले अनलाइनसरोकारसँग भने, ‘ हुलाकी राजमार्ग जोडिने सडकहरु पनि अब मापदण्ड अनुसारकै बनाइयो । भित्रीसडकहरुको स्तरोन्नती समेत गरिसकेका छौं ।’
ठोरीको वडानम्बर ५ सुवर्णपुर क्षेत्रमा गाउँपालिकाले डोजर चलाएको थियो । सानो बाघमोर्चा देखि सुवर्णपुर चोकहँुदै छिरिङलाईनहुँदै गमरियासम्मको सडक मिचेर बनाइएका सबै संरचना भत्काइएको छ ।
ठोरीमा सडक आसपासमा बनाइएका स–साना संरचना बाहेक सार्वजनिक जग्गा अतिक्रमणको समस्या छैन । नेपाल तर्फको सार्वजनिक जग्गा पर्सा र चितवन राष्ट्रिय निकुञ्जले स्वामित्वमा राखेको छ भने ठोरीको भारत तर्फको सिमाना जोडिएका क्षेत्रमा सार्वजनिक जग्गा छैन । निकुञ्जको क्षेत्राधिकार पर्ने भएकाले गाउँपालिकाले ठोरीको नदिजन्य सम्पत्तिको समेत हकभोग गर्ने अवस्था छैन ।