मन्थली नगरपालिकालाई पर्यटकीय नगरी बनाउन स्थानीय सरकारले नीति लिएको छ । शिक्षित स्वस्थ र व्यवसायिक शहर, उत्थानशिल र समृद्ध मन्थली नगरको लक्ष्य लिएको नगरपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने नीति लिएको हो ।

नगरको योजनावद्ध पर्यटकीय विकास र विस्तारका लागि अन्तरनिकाय साझेदारी समन्वय गरिने र नगरभित्रका पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण र प्रचारप्रसार गरिने नगरप्रमुख लव श्रेष्ठको भनाई छ । नगरप्रमुख श्रेष्ठका अनुसार मन्थली नगरपालिकाको समृद्धिको आधार कृषि र पर्यटन नै हो । नागरिकको जिवनस्तर उकास्दै नगरलाई समृद्ध बनाउन नगरपालिका अग्रसर छ ।
मन्थली नगरपालिका नेपालको एक सुन्दर पर्यटकीय नगरी हो । यहाँ दर्जनौं मठमन्दिर, गढी, गुफा र गुम्बासहितका पुरानो किंवदन्ती बोकेका पर्यटकीय गन्तव्यहरु छन् ।
तराईका जिल्लाबाट र राजधानी काठमाडौंबाट समेत नजिक पर्ने मन्थलीमा पर्यटकका लागि घुम्ने र रम्ने अनगिन्ती विशेषताहरु छन् ।
चिच्याएर बर मागे पुरा हुने किंवदन्ती रहेको थानापति महादेव मन्दिरमा पर्यटकको आवागमन बढेको छ । यो पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो ।
नगरपालिका भित्रका ऐतिहासिक तथा धार्मीक स्थल र चिया बगानसहितका कृषि उपजसँग जोडेर मन्थली नगरपालिकाले पर्यटक भित्राउने लक्ष्य रोखेको छ ।
चालु आर्थिक वर्षमा मन्थली नगरपालिकाले शिक्षा स्वास्थ्य कृषि र पर्यटनसँगै पूर्वाधार विकासका काम गर्ने भएको छ ।
बालमैत्री नगरघोषणाको लक्ष्य लिएको मन्थली नगरपालिकाले सबै वडा कार्यालय भवन निर्माण र व्यवस्थापन समेत गर्ने भएको छ ।