ओखलढुंगामा सौर्य मिनिग्रिडबाट १ सय ९१ घरमा विद्युतिकरण गरिएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका ९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो ।
ककनीमा ६ करोड ४२ लाख ८८ हजार ९ सय ३३ को लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट विद्युत उत्पादन सुरु भएको छ ।
मिनिग्रिडको उद्घाटन गरिएको छ । मिनिग्रिडको उर्जा जलस्रोत तथा सिंचाइँ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले उद्घाटन गरेका हुन् ।
ककनीमा विद्युतिकरण गरेर एउटा महत्वपूर्ण अभिभारा पुरा गरिएको वडा अध्यक्ष हितराज कार्कीले बताए ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरि कुल ६ करोड ४२ लाख लाख ८८ हजार ९ सय ३३ को लागतमा सौर्य मिनिग्रिड स्थापना गरिएको हो ।
मिनिग्रिडबाट ककनीका १९१ घरधुरी लाभान्वित भएका छन् । ककनीका विधालय र स्वास्थ्य संस्थामा समेत विधुत जडान गरिएको छ ।
मिनिग्रिड आयोजना २०७९ मङ्सिरबाट सुरु भएको थियो ।
आयोजनामा सुनकोशी गाउँपालिकाले ६० लाख र हाउस वायरिङको लागि सुनकोशी गाउँपलिका वडा नम्बर ९ ले दुई लाख रकम विनियोजन गरेको थियो ।
सौर्य मिनिग्रीटको सुबिधा नपुगेको १७ घरलाई भने ५० वाटको सोलार वितरण गरिएको छ ।
प्राकृतिक हिसाबले सुन्दर र पर्यटकीय प्रचुर सम्भावना भएपनि भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने ककनीमा विधुत विस्तार भएपछि स्थानीय हर्षित भएका छन् ।