२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिथिला नगरपालिकाले ल्यायो ८० करोडको बजेट



धनुषाको मिथिला नगरपालिकाकाले अनुमानित ८० करोडको बजेट ल्याएको छ ।

सोमबार सम्पन्न नगरसभाको उद्घाटन सत्रमा नगरप्रमुख महेन्द्र महतोले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रमसहित अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटनलगायत समेटेर अनुमानित ८० करोडको बजेट नगरप्रमुख महतोले प्रस्तुत गरेका छन् । जसमा चालुतर्फ ६२ करोड र पुँजीगततर्फ १८ करोड रुपैयाँ रहेको जनाएको छ ।

असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । तर नेपाली कांग्रेस र एमालेबीचको विवादले यस नगरपालिकाको नगरसभा समयमा हुन सकेको थिएन । सोमबार एमालेका बहिष्कारका बीच कांग्रेस र एकीकृत समाजवादीले मिलेर बहुमतले नगरसभा गरेका हुन् ।

मिथिला नगरपालिकामा ११ वटा वडा छ । कांग्रेसले मेयरसहित चारवटा वडा जितेको छ । एमलाेले उपमेयरसहित पाँचवटा वडा जितेको छ । एकीकृत समाजवादीले २ वटा वडा जितेको छ ।

कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्य तथा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री सत्रुधन महतो विशिष्ट आतिथ्यमा नगरसभाको उद्घाटन सत्र सकिएको छ ।

नगरसभामा माओवादीका नेता रामकुमार महतो, कांग्रेसका गुदर यादव, माओवादीका दिनेश मण्डल, एसका जिवछ महतोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगरसभाको बन्द सत्र सोमबार नै सुरु भएको र बजेट बाँडफाँटका लागि पाँच सदस्य समितिसमेत गठन भएको नगरपालिकाले जनाएको छ ।

अब १७ गते बुधबार फेरि नगरसभा बैठक बस्ने मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्यांगदनले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १६ श्रावण मंगलबार ००:००  १२ : ४६ बजे