जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा नियन्त्रणको योजना अघि सारेको छ । समाजको सभ्यता झल्काई सभ्य नागरिक र सुसज्जित समाजको पहिचान दिलाउन गाउँपालिका रक्सी नियन्त्रण गर्न लागेको हो ।
गुठिचौर गाउँपालिकाले मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० गाउँसभाबाट पास गरिसकेको छ । १५ औँ गाउँ सभाबाट पारित कार्यविधि अनुसार आगामी भदौ १ गतेबाट गुठिचौरमा मदिराको उत्पादन, विक्रि वितरण र सेवन पूर्ण रुपमा बन्द गरिने छ । यदि मदिरा सेवन र विक्री वितरण गर्नु पर्ने भए पालिकाबाट लाइसेन्स लिनुपर्ने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए ।
‘समाजलाई राम्रो र प्रगतिशील बाटोतिर लैजाने हो भने मदिरालाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ, उनले भने, ‘मदिरा नियन्त्रण गर्ने नीति गाउँ सभाबाटै पारित गरेका छौं, मदिरा सेवन गर्न चाहने व्यक्तिले गाउँपालिकाबाट मदिरा सेवन कार्ड लिनु पर्ने, अतिथि मदिरा सेवन कार्ड, विक्री वितरण र ओसारपसार गर्न नयाँ इजाजत पत्र लिनु पर्नेछ ।’ पाहुना लाग्न आउनेले समेत लाइसेन्स नभई मदिरा सेवन गर्न पाउने छैनन् ।
पहिले नै अन्तःशुल्क कार्यालयबाट अनुमति लिएका विक्रीकर्ताले पुनः पालिकामा अभिलेख राख्ने व्यवस्था गरिएको छ । स्थानीय स्तरमा उत्पादन गर्ने, विक्री वितरण तथा ओसारपसार गर्ने व्यक्ति÷ व्यापारीले साउन महिनाभित्र इजाजत पत्र लिनुपर्ने व्यवस्था गरिएको हो ।
मदिरा विक्री वितरण गर्न इजाजत पत्र लिएका व्यक्ति तथा व्यापारीले सार्वजनिक स्थल विद्यालय, स्वास्थ्य चौकी, मन्दिर, सरकारी तथा गैर सरकारी कार्यालय भन्दा पाँच सय मिटर टाढाको दुरीमा मात्र राख्न पाइने कार्यविधिमा उल्लेख गरिएको छ ।
मदिरा पसल अन्य खाद्यजन्य सामग्रीदेखि अलग्गै राख्नु पर्ने छ । यद्यपी नेपाल सरकारको मापदण्ड र स्थानीय सरकारको कार्यविधिका सबै सर्त पुरा गरेर जुम्लाको स्थानीय उत्पादनबाट मदिराको उत्पादन गर्न साना उद्योगहरु चलाउन भने रोक लगाइने छैन ।
पछिल्लो समय मदिराको सेवन बढेसँगै समाजमा अप्रिय घटनाहरु बढ्दै गएका छन् । मदिरा निषेधित समाज बनाउने सुन्दर सपना प्रायः सबै जनप्रतिनिधिले देख्ने गरे पनि व्यवहारमा मदिरा नियन्त्रण गर्न ठोस अभियान कमैले चालेका छन् ।
भाषणमा मदिराको चौपट्ट विरोध गर्ने अनि भाषणसकिएपछि साँझ मदिरा नभई रात कटाउन नसक्ने जनप्रतिनिधिकै लागि पनि गुठिचौरको यो नीतिले झस्काएको छ ।