२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामै उत्कृष्ट बन्यो चाँगुनारायण



चाँगुनारायण नगरपालिका उपत्यकामा उत्कृष्ट नगरपालिका बनेको छ । आर्थिक वर्ष २०७९-०८० को नीति कार्यक्रम र बजेट कार्यान्वयनमा उपत्यकाका अरु पालिका भन्दा सफल भएको हो ।

गत आर्थिक वर्षमा चाँगुनारायणले ८१.२६ प्रतिशत बजेट खर्च गरेको छ । यो काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तह भन्दा बढी हो । उपत्यकाका २१ स्थानीय तहमध्ये सबैभन्दा बढी चाँगुनारायण नगरपालिकाले कूल बजेटमा ८१.२६ प्रतिशत बजेट खर्च गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताए । नगरप्रमुख खत्रीका अनुसार   चाँगुनारायण नगरपालिकाले चालूतर्फ ८० करोड, १० लाख ७७ हजार २८२ रुपैयाँको बजेट विनियोजन गरेकोमा ६७ करोड २१ लाख, २ हजार ३६० रुपैयाँ अर्थात ८३.९ प्रतिशत, पुजीँगततर्फ १ अर्ब ३३ करोड ७२ लाख २७ हजार २१७ रुपैया बजेट विनियोजन गरेकोमा १ अर्ब ६ करोड, ५५ लाख ६९ हजार ८११ अर्थात ७९.६९ प्रतिशत रकम खर्च गरेको छ ।

नगरपालिकाको चालू र पुजीँगततर्फ गरेर कूल बजेट २ अर्ब १३ करोड ८३ लाख, ५ हजार २०० रुपैयाँको बजेट विनियोजन गरेकोमा नगरपालिकाले कूल १ अर्ब ७३ करोड ७६ लाख ७२ हजार १७२ अर्थात ८१.२६ प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक वर्ष सुरु हुने बित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आव्हान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तिब्र गतिमा बिकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तिब्रता र पूर्णता दिन सफल भएको नगरप्रमुख खत्री बताउँछन् । ‘आर्थिक वर्ष ०७९÷०८० मा बिकासको लक्ष्य हासिल गर्न नीति, कार्यक्रम तथा बजेट पारित भएसँगै साउनबाटै बिकासका काम सुरु गर्दै बोलपत्र आव्हान गर्ने, वडा वडामा उपभोक्ता समिति गठन गरेर कामलाई तिब्रता दिने कार्यको थालनी गर्यौ ।’ खत्रीले भने, ‘यस वर्षपनि क्रमागत योजनाहरुको काम सुरु गरिसकेका छौँ ।’ चाँगुनारायण नगरपालिकाले ग्रामिण क्षेत्र बढी ओगटेको र विकासमा धेरै चुनौती रहेपनि स्थानीयवासीको सहयोग, जनप्रतिनिधिहरुको लगनशिलता र कर्मचारीको साथले समस्या र चुनौतीलाई हल गर्दै विकासलाई तिब्रता दिएको नगर प्रमुख खत्रीको भनाई छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले पुँजीगततर्फ एक अर्ब दुई करोड बजेट विनियोजन गरेकोमा रु. ६४ करोड ७६ लाख अर्थात् ६३ प्रतिशत रकम मात्रै विकास बजेटतर्फ खर्च गरेको छ । मध्यपुरठिमी नगरपालिकाले पुँजीगततर्फ एक अर्ब ११ करोड बजेट विनियोजन गरेकोमा ६० करोड ११ लाख अर्थात् ५३.९९ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।

भक्तपुर नगरपालिका पुँजीगतर्फ रु. ७३ करोड ५८ लाख बजेट विनियोजन गरेकोमा ३९ करोड ९२ लाख ९० हजार अर्थात् ५४.२७ प्रतिशत रकम मात्र खर्च गरेको छ । भक्तपुुर जिल्लाका चार पालिका मध्ये बिकास बजेट सबभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ । भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले भने बिकास बजेट खर्चको लक्ष्य समेत हासिल गर्न सकेका छैनन् ।

आर्थिक वर्ष ०७९÷८० मा पुँजीगततर्फ बजेट खर्चने उपत्यकाका २१ पालिका मध्ये ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकाले ५५ प्रतिशत, गोदावरी नगरपालिकाले ६८.१७ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ४३.१७ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकाले ७८.३७ प्रतिशत, बागमती गाउँपालिकाले ७९.५९ प्रतिशत, महाँकाल गाउँपालिकाले ५६.७९ प्रतिशत बजेट खर्च गरेका छन् ।

काठमाडौं महानगरपालिकाले २५.८४ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ५९.६२ प्रतिशत, नागार्जुन नगरपालिका ४१.२८ प्रतिशत, कीर्तिपुर नगरपालिकाले ५९.८६ प्रतिशत, टोखा नगरपालिकाले ६६ प्रतिशत, दक्षिणकाली नगरपालिकाले ७२.३३ प्रतिशत, शंखरापुर नगरपालिकाले ४६.५७ प्रतिशत, तारकेश्वर नगरपालिकाले ६७.३८ प्रतिशत, बुढानीलकण्ठ नगरपालिकाले ३८ प्रतिशत, कागेश्वरी–मनोहरा नगरपालिकाले ६० प्रतिशत, गोकर्णेश्वर नगरपालिकाले ६८.२ प्रतिशत विकास बजेट खर्च गरेको तथ्यांक छ ।

प्रकाशित मिति : २०८०, १९ श्रावण शुक्रबार ००:००  १२ : ३९ बजे