प्राचिन कोलीय राज्यको राजधानी देवदह पर्यटकीय गन्तव्य बनेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध छ ।
रुपन्देहीको देवदह नगरपालिका भित्र दर्जनौं पर्यटकीय गन्तव्यहरु छन् ।
पुरानो किंवदन्ती बोकेको ऐतिहासिक माथागढी क्षेत्रलाई प्राथमिकतामा राखेर देवदहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय सरकार जुटेको छ ।
पाल्पा र रुपन्देहीको सिमानामा रहेको माथागढी क्षेत्रमा पुगेपछि प्राकृतिक सौन्दर्यतामा घुम्न र अर्गानिक परिकारमा रम्न पाउने भएपछि पछिल्लो समय पर्यटकको आवागमन बढेको छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसार गरेर नगरपालिकाले देवदहलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेको नगरप्रमुख ध्रुवप्रसाद खरेलले बताए ।
अर्गानीक सेमी खेती विस्तार, पैदल मार्ग निर्माण, मगर बस्तिमा होमस्टे सञ्चालनलगायतका काम गरेर पर्यटन व्यवसाय मार्फत स्थानीयको आम्दानीको स्रोतवृद्धिको लक्ष्य लिइरहेको नगरप्रमुख खरेलको भनाई छ ।
पर्यटकीय क्षेत्रको आसपासमा रहेका घरहरु पर्यटकीय हिसाबले निर्माण गर्न नगरपालिकाले अपिल गरेको छ ।
सुखी देवदहबासी समृद्ध देवदहको लक्ष्य अनुसार निर्वाचित भएपछिको १ वर्ष उपलब्धिमुलक रहेको र आगामी वर्ष रचनात्मक काम गर्ने अठोट लिइएको नगरप्रमुख खरेलले बताए ।
गौतम बुद्धको मावली गाँउका रुपले परिचित देवदहमा कृषि तथा उद्योगको पर्याप्त सम्भावना छ । प्राकृतिक श्रोत साधन र विभिन्न जातजातीहरुको भाषा, भेषभुषा, संस्कार र संस्कृतिको भण्डारका रुपमा समेत देवदहलाई लिइन्छ ।