सिन्धुलीको फिक्कल गाउँपालिकाले उद्यमशिलता विकासमा जोड दिएको छ । बेरोेजगार समस्या हटाएर फिक्कलबासीलाई आत्मनिर्भर बनाउँदै व्यवसाय मार्फत उद्यमी बनाउने लक्ष्यका साथ गाउँपालिकाले उद्यम विकासलाई प्राथमिकता दिएको हो ।
स्थानीय सरकारको उद्यम विकास नीति अनुरुप साझेदार निकायसँग समन्वय गरेर स्रोत वृद्धि गर्दै फिक्कलका नागरिकलाई गाउँमै स्वरोजगार र आत्मनिर्भर बनाइने गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताइन् । महिला र युवालाई लक्षित गरिएको उद्यम विकास अभियान अन्तरगत व्यवसायीक तालिम, प्रशिक्षण, वित्तिय साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । दर्जनौं युवा तथा महिलाले सिपमुलक तालिम पाएर व्यवसाय सुरु गरिसकेका छन् ।
दिगो विकासको लक्ष्य अनुसार फिक्कलमा महिलाहरुलाई आत्मनिर्भरताका लागि तालिम दिने, समुह सहकारीमा आवद्धता गराउने, उद्यमी बनाउने, बचत तथा ऋणको काममा अभ्यस्त बनाउने जस्ता काम गरिरहेको गाउँपालिका अध्यक्ष सुनुवारले अनलाइन सरोकारसँग बताइन् ।
फिक्कलमा महिला स्वास्थ्यका क्षेत्रमा समेत अब्बल काम भईरहेको अध्यक्ष सुनुवारको दावी छ । मातृशिशु स्वास्थ्य, गर्भवती जाँच, सुरक्षित सुत्केरीलगायतका सेवामा गाउँपालिकाले स्थानीयलाई सहयोग गर्दै आएको छ ।
अघिल्लो ५ वर्षे कार्यकालमा उपाध्यक्ष भएर सफल कार्यकाल व्यतित् गरेकी सुनुवार अध्यक्ष र अघिल्लो कार्यकालमा ५ वर्ष वडाअध्यक्ष एवम् पालिका प्रवक्ता भएर काम गरेका उपाध्यक्ष राजु बरालले विगत वर्षको सिकाई र अनुभवका आधारमा नयाँ कार्यकाल रचनात्मक बनाउन लागिपरेका छन् ।












