खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कृषि र पशुपालन मार्फत आर्थिक विकासको लक्ष्य अघि सारेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकिकरण, व्यवसायिकरण, विशिष्टीकरण गरी उत्पादन उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सृजना गर्ने लक्ष्य लिएको हो ।
ऐसेलुखर्कमा कृषकलाई ८० प्रतिशतसम्म अनुदान दिन अध्यक्ष कृषि यान्त्रिकरण कार्यक्रम सुरु गरिएको छ । व्यवसायिक कृषि तथा पशु फर्म सुदृढिकरणका लागि ५० प्रतिशत अनुदान दिने, तोरी उत्पादनका लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिने, पशुपालक किसानलाई तालिम, घाँसका विउ, व्यवसायिक पशुपालन र पशु विमाका लागि अनुदान दिने भएको छ ।
नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा कृषि र पशुपालनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने नीति लिइएको गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले बताए । विगतका असल अभ्यासलाई निरन्तरता दिँदै नयाँ रचनात्मक काम गरिने उनको भनाई छ ।
चालु आर्थिक वर्षमा ऐसेलुखर्कले आर्थिक विकासका लागि १ करोड २१ लाख २५ हजार रकम विनियोजन गरेको छ । कृषि, पशुपालन र पर्यटनमा प्रचुर सम्भावना भएको ऐसुलुखर्कमा संघियतापछि थुप्रै विकास र परिवर्तन भएका छन् ।