काठमाडौं महानगरपालिकाले चावहिलको गंगाहिटीमा नक्सा पास नभएका अबैध घरटहराहरु भत्काएको छ । आज बिहान महानगरको नगरप्रहरीको टोलीले गंगाहिटीका नक्सा पास नगरेका टहराहरु डोजर लगाएर भत्काएको हो ।
महानगरले नक्सा पास नगरी बनाएका संरचनाहरु भत्काइरहेको महानगरको नगरप्रहरीले बताएको छ । नगरप्रहरीले एक्कासी टहरामा डोजर लगाएको भन्दै टहरामा काेठा भाडामा लिएर बस्नेहरु आक्रोशित बनेका थिए ।
उनीहरुलाई घरबेटीले घर खाली गराउन कुनै सूचना नदिएको उनीहरुको गुनासो छ । डोजर चल्न थालेपछि सामानहरु समेत निकाल्न नपाएको उनीहरुले बताएका छन् । एक्कासी कोठा भत्काउँदा बिचल्ली भएको थियो ।
उनीहरुले जसाेतसाे आफ्नाे सामान निकालेका थिए । अब कसरी अर्काे काेठा खाेज्ने भन्ने समस्या भएकाे उनीहरु बताउँछन् ।