कागेश्वरी मनाेहरा नगरपालिकाका जनप्रतिनिधिले मासिक रुपमा नागरिकसँग साक्षात्कार र सुनुवाई गर्न थालेका छन् । नगरपालिकाको नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, सञ्चालित योजना र सेवा प्रवाह तथा नगरका हरेक गतिविधिबारे जानकारी दिने र नगरबासीको सन्तुष्टी मापन गर्दै सुझाव लिएर आगामी योजना तय गर्न कागेश्वरीका जनप्रतिनिधिले प्रविधिको प्रयोग गरेर नागरिक साक्षात्कार गर्न थालेका छन् ।
कागेश्वरी मनाेहराले नयाँ आर्थिक वर्ष सुरु भएपछि हरेक महिनाको पहिलो बुधबार बिहान ७ः३० देखि ९ बजेसम्म मासिक सार्वजनिक सुनुवाई गर्न थालेको छ । जुम मार्फत हुने सुनुवाईमा नगरबासीले आफ्नो क्षेत्रमा भए गरेका विकास निर्माण र नगरपालिका मातहतका कार्यालयको सेवा प्रवाहका बारेमा प्रश्न, प्रतिक्रिया र सुझावहरु राख्ने गरेका छन् ।
नगरबासी तथा सरोकारवालाका प्रश्नको नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु र विषयगत शाखाका प्रमुखहरुले तत्काल सम्बोधन गर्ने गरेका छन् ।
नगरपालिकाको सेवालाई गुनासोरहित बनाउँदै सुशासन र पारदर्शीताका लागि नागरिक साक्षात्कार एवम् मासिक सुनुवाईको अभ्यास थालिएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । कागेश्वरीले अहिले पूर्वाधार विकाससँगै आन्तरिक स्रोत वृद्धिको काम गरिरहेको उनको भनाई छ । नगरप्रमुख कार्कीका अनुसार राजश्व संकलनका लागि कागेश्वरीमा घरदैलो अभियान सञ्चालन हुने भएको छ ।
जनप्रतिनिधि पदमा पुगेपछि फर्किएर आएनन् र आफुहरुका कुरा सुनेनन् वाचा अनुसार काम पनि गरेनन् भन्ने आम नागरिकको टिप्पणी छ । कागेश्वरी मनाेहराकै जस्तो अभ्यास अरुहरुले पनि गर्ने हो भने संघियता र जनप्रतिनिधिमाथि उठ्ने सयौं प्रश्न, आलोचनाहरु कम हुनेछन् ।