२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै भीरकोट !

पर्यटनलाई समृद्धिको आधार बनाउँदैछौं : मेयर कर्माचार्य



गण्डकी प्रदेशको केन्द्रसँग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो, स्याङ्जा । पोखराबाट सवारी साधनमा करिब १ देखि डेढ घण्टा घुम्ती बाटो यात्रापश्चात् रमणीय पर्यटकीय जिल्ला स्याङ्जा पुग्न सकिन्छ ।

विविध पर्यटकीय स्थान र धार्मिक स्थलहरूले स्याङ्जा पुग्ने जो कोही आन्तरिक तथा बाह्य पर्यटकहरूको मन लोभ्याउँछ । स्याङ्जाका चार गन्तव्य नेपालका एक सय पर्यटकीय गन्तव्य सूचिभित्र छन् ।

स्याङ्जा जिल्ला नै सुन्दर पर्यटकीय गन्तव्य हो । त्यसमा भीरकोट नगरपालिका क्षेत्र अझ पर्यटनमा प्रचुर सम्भावना बोकेको स्थानीय तहमा पर्दछ ।

मध्यकालिन आँधिखोलाको सभ्यताभित्र विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भीरकोट राज्यको स्थापनाको किंवदन्ती बोकेको भीरकोट अहिले पर्यटकको पर्खाइमा छ ।

यहाँ आन्तरिक तथा बाह्य पर्यटकका लागि घुम्ने र रम्ने अनगिन्ती गन्तव्यहरु छन् । स्थानीयको न्यायो स्वागत र प्राकृतिक धार्मीक एवम् ऐतिहासिक क्षेत्रको सुन्दर दृश्यावलोकन सँगै स्थानीय उत्पादनका परिकारले भीरकोट पुग्ने पर्यटकलाई प्रफुल्लित बनाउँछ ।

ऐतिहासिक भीरकोट दरबार, नेपालको सय गन्तव्य सूचिमा पर्ने स्वरेक मैदान, गडहरे गुफा, छाङ्गछाङ्गदी, आँधिखोला, पुरानो किंवदन्ती बोकेका विभिन्न मठमन्दिर, सुन्दर पहाडी भु-बनोट यहाँका आकर्षक गन्तव्य हुन् ।

भीरकोट नगरपालिका ५ मा पर्ने स्वरेक मैदान देशकै अर्को प्रमुख पर्यटकीय सम्भावना बोकेको स्थान हो । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै छ । यहि मैदानमा प्याराग्लाडिङ सिकाइन्छ ।

स्वरेकमा पहिलो पटक अन्तर्राष्ट्रिय खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता २०७५, राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ सम्पन्न भइसकेकाले यस स्थानको नाम नेपालमा मात्र नभई विश्वमै प्रख्यात बनेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका १ बयरघारीबाट ७ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १२ किलोमिटरको कच्ची सडक हुदैँ यस स्थलमा पुग्न सकिन्छ । नेपालकै पहिलो प्यारग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कुल स्थापना गरेका छन् । भीरकोट नगरपालिका क्षेत्रमा पर्यटनको अथाह सम्भावना रहेको सुनुवार बताउँछन् । 

छाङ्गछाङ्गदी भीरकोटको अर्को आकर्षक गन्तव्य हो । स्याङ्जा सदरमुकामबाट करिब १८ किलोमिटर दक्षिण सिद्धार्थ राजमार्गमको छेउमै छाङ्गछाङ्गदी पर्दछ ।

स्वस्थानी व्रतकथामा आधारित सतीदेवीको अन्तिम अङ्ग पतन भएको स्थलले यो स्थान चर्चित छ । छायाँक्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र सितल वातावरणसँगै गाईको मुखजस्तै देखिने धाराबाट आउने पानी आकर्षणको केन्द्रबिन्दु मानिन्छ । सिद्धार्थ राजमार्गको ओहोरदोहोर गर्ने जो कोहि पनि यस स्थानको दर्शन गर्ने गर्दछन् ।

भीरकोट नगरपालिकाको वडा नं ८ र ९ को सीमामा गडहरे गुफा छ । मुलुककै सबैभन्दा लामो गुफा हुनसक्ने दावी गरिएको गुफा चट्टानी ढुंगाहरु मिलेर बनेको छ । गुफाभित्रै आकर्षित झरना छ ।

गुफाभित्र ३-४ घण्टा हिँड्दा पनि गन्तब्य भेटिदैँन । गुफामा माछा र बिभिन्न प्रजातीका चमेरा प्रशस्तै भेटिन्छन् । अध्ययन टोलीको प्रतिवेदनका आधारमा पालिकाले कामअघि बढाउने भएको छ । यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तब्यका रुपमा अघि बढाउन सके यसक्षेत्रको सामाजिक र आर्थिक विकासका सम्भावना छ ।

भीरकोट नगरपालिकाको मुख्य बजार बयरघारी बजारदेखि झण्डै ९ किलोमीटर कच्ची बाटोको यात्रापछि  गुफामा पुग्न सकिन्छ । गुफामा जानका लागि मोटरबाटोको सहज पहुँच छ ।

भीरकोट दरबार यहाँको ऐतिहासिक पर्यटकीय गन्तव्य हो । पर्यटकीय पूर्वाधार विकास र  प्रचारप्रसारको अभावमा ओझेलमा परेपनि यसको छुट्टै महत्व छ ।

आजको भीरकोट नगरपालिकाको अधिकांश क्षेत्र इतिहासमा अस्तित्वमा रहेको बाइसे चौबिसे मध्येको भीरकोट राज्यमा पर्दछ । नगरपालिकाको नामाकरण गर्ने क्रममा पनि सोहि एतिहासिकतालाई आधार मानेर भीरकोट राखिएको हो । जमिनको भीरालो स्वरुपलाई भीर र खजाना राखिने ठाउँलाई कोत भनिए अनुसार राज्यको नाम नै भीरकोत रहेको र त्यसको अपभ्रंस भई भीरकोट भनिएको भन्ने गरिन्छ । नेपाल राज्य निर्माण हुनुपुर्वको टुक्रे राज्यको दरबारको स्वरुप भीरकोट दरबार अहिले पनि भीरकोट नगरपालिका १, जगतपुरमा अस्तित्वको रुपमा रहेको छ ।

हाल अस्तित्वमा रहेको भीरकोट दरबारलाई पालिकाले दरबार संग्रालयको रुपमा विकास गर्ने गरि योजना बनाएको छ ।

भीरकोटलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागेको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले अनलाइन सरोकारसँग बताए । ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार गरेर भीरकोटको समृद्धिको आधारमा रुपमा पर्यटन विकास गरिने नगरप्रमुख कर्माचार्यको भनाई छ ।

प्रकृतिसँग नरमाउने मान्छे कमै हुन्छन् । तर मान्छे सबै प्रकृतिसँग समान रुपमा रमाउन सक्दैन् । विविधताले भरिएको भूगोलका केही भागहरु मात्रै मनमोहक र रमणीय लाग्छन् ।   अनौठो, एतिहासिक, कलात्मकता, दृष्यावलोकन, विविधता र विविध विशेषताहरुले भीरकोट विशेष गन्तव्य बन्ने बाटोमा छ । 

स्थानीय सरकारको पर्यटन प्रवद्र्धन नीतिलाई राज्यका माथिल्ला तहले प्राथमिकतामा राख्ने हो भने भीरकोट विश्वभरका पर्यटक तान्ने देशकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।

प्रकाशित मिति : २०८०, ११ भाद्र सोमबार ००:००  २ : २१ बजे