बाजुराको पर्यटकीय क्षेत्र बुढीनन्दामा नगर कार्यपालिकाको बैठक बसेको छ । बुढीनन्दा क्षेत्रको धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुढीनन्दा नगरकार्यपालिको १९ औं ऐतिहासिक बैठक भाद्र १३ गते पर्यटकीय क्षेत्र बुढीनन्दामा सम्पन्न भएको हो ।
देशभर बुढीनन्दाको पर्यटन प्रवद्र्धनको सन्देश दिन बसेको बैठकले नगरपालिकाको पर्यटन प्रवद्र्धन का लागि ऐतिहासिक निर्णयहरु गरेको छ । बुढीनन्दा क्षेत्र लगायत बुढीनन्दा नगरपालिकाका सबै क्षेत्रको पर्यटन प्रवद्र्धन र विकास गर्न बुढीनन्दा पर्यटन विकास समिति गठन गरिएको छ । नगर प्रवक्ता जंगवीर रोकायाको नेतृत्वमा गठित समितिलाई पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर बुढीनन्दालाई पर्यटीय गन्तव्यको रुपमा विकास गर्ने जिम्मेवारी दिइएको छ ।
प्रत्येक वर्ष पालिकाबाट बुढीनन्दा माताको पुजा गर्न नगर सरकारको टोली खटाउने र जनैपूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीमा बुढीनन्दाको पुजाको अवसरमा नगरपालिकामा सार्बजनिक विदा दिने निर्णय भएको छ ।
बुढीनन्दा पर्यटकीय तथा धार्मिक क्षेत्रको अध्ययन अनुसन्धान तथा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्ने बडीमालिका नगरपालिका ८ मार्तडीका मनोज रेग्मीलाई सम्मानार्थ पर्यटन दुत घोषणा गरिएको नगरप्रमुख जनक कुमार बोहराले जानकारी दिए । यसक्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बुढीनन्दामा भएको कार्यपालिका बैठकले यसक्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक सन्देश दिएको नगरप्रमुख बोहराको भनाई छ ।
पुरानो किंवदन्ती बोकेको बुढीनन्दा माताको नामबाट नामाकरण भएको यो नगरपालिका भित्र दर्जनौं पर्यटकिय गन्तव्य छन् ।सम्भावित पर्यटन प्रवर्द्वनमा स्थानीय सरकारले सकृयता बढाएको छ ।