सर्लाहीको कौडेना गाउँपालिकाले एसिया कप क्रिकेट प्रतियोगिताका सहभागी खेलाडीलाई ५ लाख पुरस्कार दिने भएको छ । खेलाडीको आत्मावल बढाउन र क्रिकेट खेलप्रति प्रोत्सहान गर्न गाउँपालिकाको तर्फबाट ५ लाख रकम दिने गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले घोषणा गरेका हुन् ।
श्रीलंकामा सोमबार भएको एसिया कपमा नेपाली क्रिकेट टिमले सहभागिता जनाई उत्कृष्ट प्रर्दशनका बाबजुत भारतसंग पराजय बेहोरे पनि नेपाली खेलाडीको टिमलाई सम्मान स्वरुप नगद पाँच लाख पुरस्कार दिने घोषणा गरेको गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले अनलाइन सरोकारसँग बताए ।
खेलकुद क्षेत्रबाट नेपालको नाम अन्तराष्ट्रिय जगतमा फैलाएका खेलाडीहरुको मेहेनतको कदर गर्दै प्रोत्सहान स्वरुप एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी टिमलाई नगद पुरस्कार दिइने अध्यक्ष यादवको भनाई छ ।
एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १० विकेटको हार बेहोरेको छ । भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो । भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए ।
वर्षाका कारण प्रभावित खेलमा भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो ।
डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको हो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो ।
नेपाललाई हराएको भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भने पहिलो चरणबाटै बाहिरिएको छ ।