२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधार विकासमा श्रम संस्कृतिको विकास गर्दै मरिण गाउँपालिका



सिन्धुलीको मरिण गाउँपालिकाले पूर्वाधार विकासमा श्रम संस्कृतिको विकास गरेको छ । वर्षाको बाढी पहिरोबाट क्षतिग्रस्त बनेको विकासका पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्न सुरु गरिएको हो ।

पछिल्लो समयमा गाउँघरमा सञ्चालन हुने सडक, सिंचाइ, खानेपानी लगायतका विकासका पूर्वाधार निर्माणमा जनसहभागिता घटिरहेको बेला उक्त पालिकाले भने बाढी पहिरोबाट क्षतिग्रस्त पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्ने अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताए । गाउँको स साना विकास निर्माण र स्तरोन्नतीका काममा नागरिक सहभागिता वृद्धि भए मात्रै दिगो विकासमा टेवा पुग्ने भएकाले श्रमसंस्कृतिको विकासमा जोड दिइएको अध्यक्ष मोक्तानको भनाई छ ।

मरिणले अधिकतम जनश्रमदान गर्दा नसके मात्रै पालिकाले बजेट र मेसिन औजार उपलब्ध गराउने नीति लिएको छ । मरिणमा श्रमसंस्कृतिको सुरुवात गर्दा सुरु सुरुमा स्थानीयले चासो नदिएपनि अहिले स्वस्फुर्त आफ्नो गाउँ, आफैं बनाऔं भन्ने भावनाको विकास भई जनश्रमदान गर्ने बानी बस्दै गएको छ ।

गाउँघरमा पछिल्लो समयमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने विकास निर्माणका योजनामा १०–१५ प्रतिशत स्थानीय उपभोक्ताको जनश्रमदान हुनुपर्ने व्यवस्था भए पनि त्यो कागजमा मात्र सीमित हुँदा मरिण गाउँपालिकाले यो वर्षदेखि जनश्रमदान अनिवार्य गरी कडाइ गरेको छ ।

गाउँघरका पूर्वाधार विकास तथा मर्मत गर्न अहिले स्थानीय उपभोक्तासँगै जनश्रमदानमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित जनप्रतिनिधिहरु, कर्मचारी, प्रहरी र शिक्षकहरु समेत खटिँदै आएका छन् ।

उक्त मरिण गाउँपालिकामा यसवर्षको बाढी पहिरोले १५ वटा घर, सिंचाइ कुलो तीन वटा, सडक पाँच वटा, बस्ती जोखिम एक र करिब एक सय बिघाभन्दा बढी जमिन कटान गरेको छ ।

बाढी पहिरोले क्षति गरेका मध्ये हालसम्म जनश्रमदानबाटै दुई वटा सिंचाइ कुलो र पाँच वटा सडक मर्मत गरी सञ्चालन गरिएको छ । अन्य क्षेत्रमा समेत मरिणमा श्रमसंस्कृतिको विकास बढेको छ ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार ००:००  १२ : ४२ बजे