गोरखाको चुमनुव्री देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न थालेको छ । स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्न थालेपछि ऐतिहासिक र प्राकृतिक सौन्दर्यताले भरिएको चुमनुव्री उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो ।
नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल यहि गाउँपालिकामा पर्दछ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिकामा दर्जनौं पर्यटकीय गन्तव्य छन् ।
हिमचुली र सृङ्गी जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला यसै गाउँपालिकामा पर्दछन् ।
मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकामा लार्के र ग्या जस्ता उच्च पास (ला) हरुका साथै काल ताल र वीरेन्द्र तालहरु जस्ता विभिन्न ताल तलैयाहरु रहेका छन् ।
विशिष्ट साँस्कृतिक, ऐतिहासिक गुम्बाहरु र असंख्य जडिबुटी, जैविक विविधताले भरिपूर्ण चुमनुव्रीलाई दिगो पर्यटनका माध्यमबाट समृद्धि तर्फ अघिबढाउने गरी काम भईरहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ, मुस्ताङ जाने मुख्य पदमार्ग, मनोरम हिमशृङ्खला र अलौकिक संस्कृतिसहितको विशिष्ट भूपरिवेशले पर्यटक आकर्षणको ठूलो सम्भावना बोकेको क्षेत्रलाई नयाँ पदमार्गसहितका पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइएको अध्यक्ष लामाको भनाई छ ।
दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन, समृद्ध चुमनुव्री भन्ने दिर्घकालिन सोचसहित गाउँपालिकाले पर्यटन र समृद्धिका अभियान चलाइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगेर पालिकाले विश्वमा पर्यटन प्रवद्र्धनको सन्देश दिएको छ । चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रुपमा स्थापित गरेर राख्नु आफैंमा एउटा ऐतिहासिक कार्य भएको भन्दै यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।












