बागलुङको तमानखोला गाउँपालिकाले गाउँले पर्यटनलाई टुरिज्म हवका रुपमा विकास गर्न थालेको छ । धौलागिरि हिमालको काखमा बाक्लो बस्ती, प्राकृतिक सुन्दरता, केही भिरालो, केही समथर भू–भाग मिलेर बनेको तमान गाउँ र यसक्षेत्रमा पर्ने पर्यटकीय प्रचुर सम्भावना भएका क्षेत्रलाई टुरिज्म हवका रुपमा विकास गरेको हो ।
तमानखोला गाउँपालिका–३ मा पर्ने तमान गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खिरहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्र्याउन सकेको थिएन ।
तमानखोला गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणलाई जोड दिँदै पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न थालेपछि तमान खोला ‘पर्यटकीय हब’ का रूपमा विकास भएको छ ।
पर्यटन, जलविद्युत र जडिबुटीका हिसाबले प्रचुर सम्भावना भएको तमान खोलालाई दिगो पूर्वाधार निर्माण र पर्यटकीय क्षेत्र विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए ।
तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ निर्माण गर्न र यहाँका नागरिकको जीवनस्तर उकास्न दिर्घकालिन योजनाहरु अघि बढाइएको अध्यक्ष बुढा मगरको भनाई छ ।
तमान खोला गाउँपालिका राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा तमान गाउँ पर्छ । यो सडकलाई ‘धार्मिक पर्यटन सडक’को नामकरण गरेर धार्मिक पर्यटक बढी भित्राउने गाउँपालिकाको लक्ष्य छ ।
तमान खोलामा बराह थान, ढोमै थान, देवी थान, ओदान थान, भुमे थान, लक्ष्मी मन्दिर, मण्डली थान मन्दिर, शोले देउराली, देउराली डाँडा, अङकुते देउराली, नौडल्ले पहाड, बराह ताल, राङगुली देउराली र फुस्रेको डाँडासहितका पर्यटकीय क्षेत्र छन् । यहाँ पुग्ने पर्यटकले यानीमाया सोरथी नाचमा रमाउँदै सुन्दर दृश्यावलोकन गर्न सक्छन् ।