‘चुनाव जितेपछि नेता फर्किएर आउँदैनन्, जनअपेक्षा अनुसार काम गर्दैनन्’ यो आम नागरिकले आफुले जिताएका जनप्रतिनिधि प्रति गर्ने टिप्पणी हो ।
तर दुर्गम जिल्ला बाजुराको विकट क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया अधिकांश समय नागरिकका समस्या सुन्दै समाधान गर्दै टोलबस्तिमै पुगिरहेका हुन्छन् । भौगोलिक विकटता र आधारभूत आवश्यकताबाटै बञ्चित यहाँका नागरिकले आफुहरुका समस्या सुन्न घरघरै आएका गाउँपालिका अध्यक्षलाई आफ्ना समस्या सुनाउने गरेका छन् ।
शारीरिक रूपमा असक्त तथा अपाङ्गता भएका असहायलगायतका ज्येष्ठ नागरिकले पाउने समाजिक सुरक्षा भत्ता घरमै पाउनुपर्ने, स्वास्थ्य उपचारका लागि समेत प्राथमिक स्वास्थ्य शिविर प्रत्येक महिना घरदैलोमै सञ्चालन गर्नुपर्ने, कुपोषण र बेरोजगार समस्या समाधान गर्नुपर्ने, बाटो, पुल पुलेसा, खानेपानी, मठमन्दिर र विद्यालयका संरचना निर्माण गर्नुपर्ने स्थानीयका माग छन् ।
दुर्गमा गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुललगायतका भौतिक पूर्वाधारको आवश्यकता तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्न घरदैलो अभियान सुरु गरेका गाउँपालिका अध्यक्ष रोकायाले नागरिकका समस्या समाधानको तत्काल पहल थाल्ने गरेका छन् ।
जनताका समस्या सुन्दै दिगो समाधान खोज्नेगरी घरदैलो अभियान सञ्चालन गरिएको अध्यक्ष रोकायाको भनाई छ ।
५ वटा वडा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाका भौगोलिक रूपमा पालिकाको केन्द्रबाट अधिकांश गाउँ, बस्ती निकै ठाढा छन् । वर्षाको समयमा स्वामिकार्तिक खापरका कतिपय वडामा पहिरोको उच्च जोखिम छ । पैदल यात्रा गरेर पालिकासम्म आवतजावत गर्न समस्या भइरहेका बेला घरगाउँमै जनप्रतिनिधि भेटेर आफ्ना कुरा राख्न पाउँदा स्थानीय खुसी छन् ।