सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएको छ । नागरिकलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने र स्थानीय स्रोतवृद्धि गर्ने लक्ष्य अनुरुप मेलम्चीले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएको हो ।
नगरपालिकाले सम्भाव्यता अध्ययन गरेर कृषिमा पकेट क्षेत्र विस्तारको गुरु योजना बनाएको छ । नगरपालिका भित्र जहाँ जे फल्छ त्यहाँ त्यहि कृषि उत्पादनको पकेट विस्तार गर्ने, परम्परागत निर्वाहमूखि कृषि प्रणालीलाई आधुनिक र व्यवसायिक बनाइ किसानलाई उद्यम विकासमा केन्द्रित गरिने नगरप्रमुख आइतमान तामाङले बताए । कृषिसँगै पर्यटनका क्षेत्रमा ऐतिहासिक गुफा डाँडासहितका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर मेलम्चीलाई पर्यटकीय नगरी बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाएर काम सुरु गरिएको नगरप्रमुख तामाङको भनाई छ ।
नगरपालिका क्षेत्र भित्रका कृषि योग्य जमिनको पहिचान गरी केही क्षेत्रहरुलाई मकै जोन, कागती पकेट, किवी पकेट र चिया पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम अघि बढाइएको छ ।
राजधानी काठमाण्डौबाट उत्तर–पूर्वमा मेलम्ची नगरपालिका कृषि उत्पादन र पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको नगरपालिका हो ।
पर्यटकीय स्थलको रुपमा मेलम्ची बजार, भोटेचौर चियाबगान, ईन्द्रावती नदी, हैवुङ चिसापानी, तपचुली डाँडा, पाटी भञ्ज्याङ, सुलिकोट ध्याङ, चाङखु गुफा, धौले डाँडा, ककनी लगायतका गन्तव्य छन् ।