बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने नीति लिएको छ । समाजमा पुस्तौंदेखि कुरितीका रुपमा रहेको सामाजिक भेद्भाव र छुवाछुतलाई शून्य बनाएर सभ्य समाज निर्माणको नीति लिएको हो ।
तमानखोलाले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको हो ।
समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यपालिका बैठकबाट सामाजिक रूपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनुपर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।
आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुन सकेको छैन । अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रूपमा हुने भोजभतेर फरक–फरक हुँदै आएका छन् ।