पर्यटकीय क्षेत्र भेडेटारमा सिसि क्यामेरा जडान गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकाले भेडेटार बजारका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेको हो ।
गाउँपालिकाले ईलाका प्रहरी कार्यालय भेडेटारसँगको सहकार्यमा सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने भेडेटार बजारमा ४ वटा र मुलघाटमा ३ वटा गरी ७ वटा सिसि क्यामेरा जडान गरेको छ । यी दुई स्थानमा सिसि क्यामेरा जडान गर्न गाउँपालिकाले करिव २ लाख रुपैया खर्च गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित महसुस गराउन र बजारक्षेत्रमा हुने चोरी, झै झगडा अप्रिय घटनालाई न्युनिकरण गर्न सिसि क्यामेरा जडान गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको भनाई छ । नाइट भिजन सिसिक्यामेरा जडान गरिएकाले दिउँसो मात्रै नभई रातको समयमा समेत प्रत्यक्ष निगरानी गरिने र रेकर्ड राखिने अध्यष राईले अनलाइन सरोकारसँग बताए ।
प्रविधिमैत्री पालिका निर्माणको नीति लिएको साँगुरीगढीले सिसि क्यामरा जडान, विद्युतिय हाजिरीको प्रयोग, स्थानीय तहका नीति, कार्यक्रम, बजेट र निर्णय तथा गतिविधि सामाजिक सञ्जाल र वेवसाइट मार्फत नियमित सम्प्रेषण लगायतका काम भइरहेको पालिकाले जनाएको छ ।