भौगोलिक हिसाबले पाँचथर जिल्लाकै दुर्गम मानिने तुम्बेवा गाउँपालिका सडक विकाससँगै सुगम बन्दै गएको छ । जिल्ला सदरमुकामबाट ७२ किलोमिटर टाढा दक्षिणी क्षेत्रमा पर्ने तुम्बेवाका सबै टोलबस्तिमा मोटरबाटोको पहुँच पुगेपछि केही वर्ष अघिसम्म दुर्गम मनिने यो क्षेत्र सुगम बन्न थालेको हो ।
स्थानीय सरकारको अगुवाइमा तुम्बेवाका सबै ५ वटै वडाका टोलबस्तिमा समेत मोटरबाटोको पहुँच पुगेको छ ।
अहिले गाउँपालिका बनेको साविकका ४ गाविस आङ्गना, मौवा, वलने, र हाङ्गगुममा धुलेसडक समेत सहज बन्न सकेको थिएन । अहिले पालिकाको केन्द्र मौवा बजार आसपासको बजार क्षेत्रको सडक ढलान अन्तिम चरणमा पुगेको छ । १ नम्बर वडा कार्यालयको केन्द्र जोरसल बजार क्षेत्रमा पनि ढलानको काम भईरहेको छ । क्रमश: नम्बर २ को त्रिवेणी बजार, वडा नम्बर ४ को ओलनेदशमी र वडा नम्बर ५ को हाङ्गगुम स्थित तिल्केनी बजारसहितका मुख्य सडक ढलान गरिने र अन्य ग्रामिण सडकहरु पनि ढलान, सोलिङ र ग्राभेल गरिने गाउँपालिका अध्यक्ष बाबुराम खड्काले अनलाइन सरोकारसँग बताए ।
तुम्बेवा गाउँपालिकाले अघिल्लो वर्ष ४ सय मिटर पक्कि ढलान, ३ किलो मिटर ग्राभेल, १० किलोमिटर ढुंगाको सोलिङ र ३५० किलोमिटर कच्चि सडक र साँवा खोलामा २ वटा पक्कि पुल निर्माण गरेको थियो ।
यस वर्षपनि सडक विकासलाई प्राथमिकतामा राखिएको छ ।
सबै वडाका टोलबस्तिमा पुगेको सडक स्तरोन्नती गर्दै मौवा बजार र जोरसल्ले बजार आसपासमा ३ किलोमिटर सडक ढलान गरिने गाउँपालिका अध्यक्ष खड्काले बताए । सडकको तिव्रतम् विकासले स्थानीयलाई आवत जावत गर्न, उपचारका लागि अस्पताल जान, स्थानीय उत्पादनको बजारीकरण गर्न र यस क्षेत्रको अन्य पूर्वाधार विकासमा समेत टेवा पुगेको अध्यक्ष खड्काको भनाई छ ।
गाउँपालिका भित्रका सडकलाई तमोर करिडोरसँग जोडेर तुम्बेवाको उत्पादन मकै, कोदो, धान, दाल, बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेलीलाई बजारीकरण गर्ने स्थानीय सरकारको लक्ष्य छ ।
गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको तुम्बेवामा सडक सँगै खोलाहरुमा सडक पुल निर्माणको पहल भईरहेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकारको अगुवाइमा भएको सडक विकासले स्थानीयको दैनिकीमा सहजता आएको छ । दिगो सडक विकासपछि भएको परिवर्तनले तुम्बेवाका नागरिकहरु खुसी भएका छन् ।