२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा दिगो विकासको जग बसाल्दै लालकेश: समृद्ध बन्दै ताँजाकोट



ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी हुम्लामा दिगो विकासको जग बसाउने नेताका रुपमा परिचित छन् । करिब ३ दशक देखि राजनीतिमा सकृय जैसी आफु पदमा हुँदा वा नहुँदा जिल्लाको विकासमा खट्ने नेता हुन् ।

स्थानीय तह निर्वाचन २०७९ मा ताँजाकोट गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि छोटो समयमा उनले दिगो विकासका लक्ष्य अनुरुप काम अघि बढाएका छन् । विगतमा विकासका योजना प्रस्तुत गर्ने जैसी अहिले स्थानीय सरकारको प्रमुख भएपछि कार्यान्वयनको चरणमा छन् ।

भौगोलिक विकटता, अशिक्षा, बेरोजगार, कुपोषण र गरीबीका कारण प्रताडित समुदायलाई आत्मनिर्भर बनाउँदै दिगो विकासका लक्ष्य अनुरुप पालिकालाई समृद्ध बनाउने दिशानिर्देश गर्न सफल भएको अध्यक्ष जैसी बताउँछन् । ‘लामो समय राजनीतिक कार्यकर्ता र सामाजिक अगुवाको रुपमा काम गरेँ, त्यो बेला पनि हुम्लाका जनताको नजिकको नेताका रुपमा रहेँ । अहिले पहिलो पटक जनप्रतिनिधि निर्वाचित भएर काम गर्दैछु ।’ उनले अनलाइन सरोकारसँग भने, ‘कति गर्न सकिन्छ त्यो समय आएपछि समिक्षा होला तर हुम्लाका जनताको हितमा ताँजाकोटको समृद्धिलाई केन्द्रभागमा राखेर यो ५ वर्षमा दिगो विकासको लक्ष्य हाँसिल गर्नेगरी काम गर्छु ।’ आफु अध्यक्ष रहेको पालिकाको मात्रै नभइ सिंगो हुम्ला जिल्लाको स–साना समस्या पनि आफुले नजिकबाट बुझेको भन्दै अध्यक्ष जैसीले समग्र हुम्लाको विकासमा ताँजाकोटले यो ५ वर्षभित्रै नमुना देखाउने बताएका छन् ।

यसरी हुँदैछ ताजाँकोटको विकासः  

देशकै विकट मानिने प्रदेश कर्णाली । कर्णाली प्रदेशको विकट जिल्ला हुम्ला । हुम्लाको पनि सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा पर्ने ताँजाकोट क्षेत्र कृषि उत्पादन, प्राकृतिक सुन्दरता, जल, जमिन, जंगल र जडिबुटीले पर्याप्त सम्भावना बोकेको भएपनि  भौगोलिक हिसाबले निकै विकट मानिन्छ ।

संघियतापछि स्थानीय सरकारको सकृयतामा विकास र परिवर्तनको जग बसेको ताँजाकोट गाउँपालिका, २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित वर्तमान जनप्रतिनिधिको अगुवाइमा समृद्धिको यात्रामा अघि बढेको छ ।

ताँजाकोटका सबैजसो नागरिक कृषि पेशामा आवद्ध छन् । कृषि र पशुपालन यहाँका स्थानीयको मुख्य पेशा हो ।

नागरिकको जीवन निर्वाहको मुख्य आधार कृषि क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ ।

परम्परागत खेती प्रणालीलाई सुधार गर्दै आधुनिक र व्यवसायीक खेतीमा जोड दिएको ताँजाकोटले कृषिको पकेट बनाएर काम गरिरहेको छ ।

ताँजाकोटका नागरिकलाई आत्मनिर्भर बनाउन अघि सारिएका कृषि कार्यक्रमलाई गाउँपालिका अध्यक्ष लालकेश जैसीले निजी स्वामित्व, सामुहिक काम अर्थात अनेक स्वामित्व, एक बगैचाका रुपमा विकास गराएका छन् ।

किसानले उत्पादन गरेको कृषि उपज पालिकाले किन्ने वा व्यापारीलाई गाउँदेखी बजारसम्मको ढुवानी भाडा दिन थालेको छ । ५ वर्षभित्र सबै बाँझो जमिनमा नगदेबालीको विकास र विस्तार गर्ने लक्ष्य लिएको ताजाँकोट गाउँपालिकाले दातृनिकायको सहयोग लिएर कृषिमा लगानी गर्दै जनताको जीवन बदल्ने योजना तय गरेको छ ।

नागरिकलाई आत्मनिर्भर बनाउने गरी कृषिका क्षेत्रमा गाउँपालिकाले गरेको कामबाट कृषकहरु खुसी भएका छन् ।

ताँजाकोटमा युवालाई उत्पादनसँग जोडिएको छ ।

पढेर परर्निभर बन्ने अवस्थालाई अन्त्य गर्दै कृषि र पशुपालन मार्फत युवाका लागि रोजगार सिर्जना गर्न युवासँग सरकार साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ । युवाले सुरु गरेको व्यवसाय प्रवद्र्धन गर्न गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने गरेको छ । जागिर खोजेर पालिका आउने युवालाई अनुदान दिएर कृषि र पशुपालनमा प्रेरित गरिएको छ ।

सिंचाइको सुविधा नपुगेका खेतीयोग्य ठाउँमा सिंचाइ पुर्याउन कुलो बनाउने काम अघि बढेको छ ।

खानेपानीको समस्या भएका क्षेत्रमा स्वच्छ खानेपानीका योजना सञ्चालन गरिएको छ । वडा नम्बर १ र ५ मा स्वच्छ खानेपानी पर्याइएको छ ।

आगामी केही वर्षभित्र सबै नागरिकका घरघरमा स्वच्छ खानेपानी पुर्याएर एक घर एक धाराको अभियान सफल बनाउने गाउँपालिकाको योजना छ ।

पर्यटनको प्रचुर सम्भावना भएको हुम्लाको ताँजाकोटमा पुरानो किंवतन्दी बोकेका दर्जनौं पर्यटकीय गन्तव्यहरु छन् ।

प्राकृतिक ऐतिहासिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर यहाँको धर्म संस्कृति र अलौकिक शक्तिको प्रवद्र्धन गर्दै पर्यटनसँग स्थानीय उत्पादन जोड्ने अभियानमा स्थानीय सरकार लागेको छ ।

ताँजाकोटमा केही वर्षअघि सम्म परम्परागत शिक्षा प्रणाली परिचालनमा थियो । विकासको प्रमुख सर्त शिक्षालाई मान्ने जनप्रतिनिधिले पालिकाको नेतृत्व सम्हालेपछि भने शिक्षामा आमुल परिवर्तन आउन थालेको छ ।

नेपालमै नमुना आवासीय विद्यालय विकास गर्ने लक्ष्यसहित विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाएर ताँजाकोटका अध्यक्ष लालकेश जैसी प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ योजना पेश गरेका थिए । प्रधानमन्त्रीले तोक लगाएको फाइल शिक्षा मन्त्रीले अघि नबढाएपछि यो योजना अघि बढेन सकेको छैन ।

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति हुम्लामै उत्पादन गर्ने अठोटका साथ प्राविधिक शिक्षाको विकास र विस्तारमा लागेको ताँजाकोट गाउँपालिकाले कक्षा ९–१२ प्राविधिक शिक्षाको अनुमति लिएर गाउँमै बालिविज्ञानसहितको पठनपाठन सुरु गरेको छ ।

स्रोतको सिमितताका कारण गाउँपालिकाको सबै बजेटले एउटा विद्यालयको भवन पनि बन्दैन । तर योजनावद्ध शैक्षिक विकासमा लागेका यहाँका जनप्रतिनिधिले यसैवर्ष ६ वटा विद्यालयको भौतिक संरचना पूननिर्माणको काम गरेका छन् ।

परनिर्भर जनशक्ति उत्पादन रोकेर आत्मनिर्भर बन्ने शिक्षा दिँदै स्थानीय स्रोत साधनको उपयोग गरेर स्वरोजगार बनाउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरेको ताँजाकोटले शैक्षिक विकास र गुणस्तर सुधारका नमुना अभ्यासहरु गरिरहेको छ ।

ताँजाकोट गाउँपालिकाले स्वास्थ्य, शिक्षा र सचेतनामा पछि परेका गाउँलाई रेड गाउँको रुपमा राखेर विकासमा जोड दिएको छ । मानवविकास सुचनाकांकमा पछि परेका गाउँलाई रेड गाउँ घोषणा गरेर सरसफाई, स्वास्थ्य शिक्षा र मानव विकासका सवालमा काम भइरहेको छ ।

सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन विशेष अभियानहरु सञ्चालनमा छन् ।

नागरिकको घरघरमा  पुगेर महिनाको १ पटक निःशुल्क जाँच तथा उपचार र गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिँदै आएको ताँजाकोटले  घर र गोठ छुट्याउने जागरण अभियान समेत चलाइरहेको छ ।

१५ शैयाको अस्पताल निर्माणको कामको काम अघि बढेको छ ।

पालिकास्तरको अस्पताल व्यवस्थापन गरेर गाउँमै आधारभुत उपचारको व्यवस्था गर्न जनप्रतिनिधि जुटेका छन् ।

हुम्लामा दिगो विकासको जग बसाउँदै गरेको ताँजाकोट गाउँपालिकाले जनताले प्रत्यक्ष देख्नेगरी काम गरिरहेको छ । विपद्बाट प्रताडित समुदायलाई आवास निर्माण गरेर सुरक्षित बास दिलाएको छ ।

विगतमा अन्न कुटानपिसानका लागि निकै समस्या थियो । अहिले गाउँपालिकाले गाउँवस्तिमै पानी घट्ट र मिलहरु सञ्चालनमा ल्याएपछि स्थानीयलाई सहज भएको छ । 

पूर्वाधार विकासमा पनि ताँजाकोट निकै अघि बढेको छ । पालिकाको अगुवाइमा ५३ किलोमिटर सडक निर्माण गरिएको छ । विगतमा पैदल यात्रा गर्न पनि कठिन हुने ताँजाकोटका टोलबस्तिमा अहिले सबै ठाउँ सडक पुगेको छ र ति सबै सडकमा सवारी सञ्चालनमा आएसँगै स्थानीयको दैनिकी बदलिएको छ ।

यहाँका जनप्रतिनिभि उज्यालो ताँजाकोट बनाउने अभियानमा छन् । अहिले स्थानीय २ वटा जलविद्युत आयोजनाबाट उत्पादित विजुली गाउँमा वितरण गरिएको छ । केन्द्रीय प्रसारण लाइन विस्तारको काम समेत अघि बढाइएको छ ।

यहाँ लक्षित वर्ग विशेष कार्यक्रमहरु सञ्चालनमा छन् । विगतमा घरभित्रै चोल्हो चौकामा सिमित हुने महिलाहरुलाई स्थानीय सरकारले सीप र साथ दिएसँगै सामाजिक गतिविधिमा सहभागि हुन थालेका छन् भने आत्मनिर्भरता तर्फ केन्द्रित भएका छन् ।

ताँजाकोटमा सुशासन र पारदर्शीताको असल अभ्यास भइरहेको छ । पालिकाको नीति, कार्यक्रम र बजेटका बारेमा नागरिकलाई जानकारी दिँदै सेवा प्रवाहलाई निष्पक्ष र गुनासोरहित बनाइएको छ ।

ताँजाकोटका दुर्गम गाउँबस्तिलाई कर्णाली करिडोरसँग जोड्ने डिपिआर बनिसकेको छ । गाउँपालिकाको प्रशासनिक भवन र खेल मैदान निर्माणाधिन अवस्थामा छन् । छोटो समयमै नतिजामुलक काम गरेका गाउँपालिका अध्यक्ष जैसी बाँकी कार्यकालमा थप रचनात्मक र युगान्तकारी काम गर्ने योजनामा छन् ।

सरल स्वभाव र अबल्ल क्षमताका जैसी नेकपा माओवादीका केन्द्रका नेता हुन् ।

उनी नेकपा एमाले र नेकपा माओवादी एकताताका नेकपा कालिन पाटीको जिल्ला अध्यक्ष थिए । एमाले र माओवादी अलग अलग भएपछि माओवादीको जिल्ला अध्यक्ष बनेका थिए । 

हाल माओवादीको कर्णाली प्रदेश सहसचिव रहेका जैसी जिल्लामा युवाहरु माझ बढी लोकप्रिय छन् ।

प्रकाशित मिति : २०८०, ४ मंसिर सोमबार ००:००  १ : २५ बजे