बाजुराको हिमाली गाउँपालिकामा बिहीबार ( साउन ८ ) बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । हिमाली–५, क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकायाको मृत्यु भएको प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।
क्युडी गाउँबाट हिमाली–५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको उनले बताए । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्री बोकेर आएको जीप बढी भारका कारण कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
जीपमा सवारमध्ये १५ जना घाइते छन् । घाइतेको उद्धारका निम्ति हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थलमा पठाएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।