रामेछापमा राष्ट्रिय परिचय पत्र (डिजिटल कार्ड) वडा तहमै पुगेर वितरण गर्न थालिएको छ। सरकारी तथा प्रशासनिक सेवामा अनिवार्य रूपमा प्रयोगमा ल्याउन लागिएको यस परिचय पत्रको वितरण कार्य गाउँगाउँमै पुगी सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको हो।
रामेछापको सुनापति गाउँपालिका–५ बाट सुरु गरिएको अभियान अन्तर्गत बनेका डिजिटल कार्ड वितरण गर्नुका साथै परिचय पत्र नभएका नागरिकको अफलाइन फोटो संकलन पनि गरिने छ। अभियान अन्तर्गत एक वडामा कम्तीमा दुई दिन खटिने र आवश्यकतानुसार सेवा प्रदान गरिने जनाइएको छ।
सुनापति गाउँपालिकामा करिब २,२०० डिजिटल कार्ड वितरण गरिनेछ। वडा कार्यालयमै आयोजित कार्यक्रममा नागरिकलाई कार्ड वितरण गरिएको हो। अभियानका क्रममा कार्ड वितरणसँगै अझै नबनाएका व्यक्तिहरूको विवरण संकलन गरी फोटोसहित डाटा लिने कामसमेत गरिनेछ।
सुनापति गाउँपालिकामा १० दिनभित्र अभियान सम्पन्न गरेपछि रामेछाप नगरपालिका हुँदै अन्य पालिकाहरूमा क्रमशः विस्तार गरिनेछ। हाल जिल्ला प्रशासन कार्यालयमा १७ हजारजति डिजिटल कार्ड तयार भइसकेको र ती कार्ड यही अभियानमार्फत वितरण गरिने प्रशासनले जनाएको छ।
स्थानीय तहसम्म सेवा पु–याउन थालेसँगै नागरिकले सरकारी सेवा पाउँदा परिचय पत्रको झन्झट व्यहोर्नु नपर्ने विश्वास लिइएको छ। यसले सुशासन र सेवाको पहुँच बिस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।