२०८२, २ आश्विन बिहीबार | Fri Sep 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी यात्रुवाहक जहाज, सवार सबैको मृत्यु



रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।

रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो ।

रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ ।

मन्त्रालयले टेलिग्राममार्फत भनेको छ, ‘रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ ।’

टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्छ ।

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।

रुसका दुर्गम क्षेत्रहरू, विशेषगरी आर्कटिक र सुदूर पूर्वमा, जहाँ मौसम प्रायः अत्यन्तै खराब रहन्छ, हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा रुसको उड्डयन सुरक्षा मापदण्डमा सुधार आए पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरू दुर्घटनामा पर्ने घटनाहरू भइरहन्छन् ।

यसअघि सन् २०२१ मा पनि रुसको सुदूर पूर्वमा एउटा पुरानो एन्टोनोभ एन–२६ विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा कामचाट्कामा भएको अर्को दुर्घटनामा एन्टोनोभ एन–२६ विमानमा सवार सबै २८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८२, ९ श्रावण बिहीबार ००:००  ३ : ११ बजे