रोल्पाको रुन्टिगढीमा होलेरी ग्रामीण आँखा अस्पताल सञ्चालन हुने भएको छ । नागरिकलाई सहज रुपमा स्थानीय स्तरमै आँखा जाँच तथा उपचार सेवा प्रवाह गर्नेगरी रुन्टिगढीको होलेरीमा आँखा अस्पताल सञ्चालन गरिने भएको हो ।
होलेरी ग्रामीण आँखा उपचार केन्द्र स्थापना गर्न रुन्टिगढी गाउँपालिका, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी होलेरी बीच सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै तत्काल आँखा अस्पताल सञ्चालनमा ल्याएर आँखा जाँच तथा उपचार सेवा प्रवाह गर्ने र त्यसको दिगोपनाका लागि त्रिपक्ष भूमिका खेल्ने समझदारी गरिएको रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले बताए । ग्रामिण आँखा अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र पहिलो वर्षको कर्मचारीको आधा तलव नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले व्यहोर्ने, रेडक्रसले सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्ने र गाउँपालिकाले अस्पताल व्यवस्थापन गरेर सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।
माघ १ गतेबाट सेवा सुरु गर्नेगरी ग्रामीण आँखा अस्पताल सञ्चालन गर्ने तयारी थालिएको छ । होलेरी ग्रामीण आँखा अस्पताल सञ्चालन भएपछि रुन्टिगढी र आसपासको पालिकाका नागरिकलाई आँखा उपचार लिनसहज हुने र आधारभुत आँखा उपचार सेवाका लागि दाङ सम्म पुग्नुपर्ने बाध्यताको अन्त्य हुने रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले अनलाइन सरोकारसँग बताए ।
रोल्पा सदरमुकाममा आँखा उपचार केन्द्र भएपछि भौगोलिक विकटता र दुरीका हिसाबले टाडा पर्ने भएकाले यसक्षेत्रका स्थानीयले दाङ पुगेर आँखा जाँच तथा उपचार सेवा लिँदै आएका छन् ।
होलेरीमै आँखा उपचार सेवा पाएपछि स्थानीयलाई सहज हुने भएको छ ।