२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाँयानाथ राराले मुगुमा नगरबस चलायो, स्थानीय खुसी

आवतजावत र उत्पादनको बजारीकरणमा टेवा



मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको छ । नगरबासीलाई  यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको हो ।

छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्रसदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाँउसम्म २२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर नगरबसको सेवा सेवाको सुरुवात गरेको छ ।

नागरिकलाई सहज यातायात सेवाको उपभोग गराउन र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउन नगरबस सञ्चालनमा ल्याइएको छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले बताए । सार्वजनिक सवारीमा जस्तो यात्रुको गुनासो नहुने र बढीभन्दा बढी सेवामुलक हिसाबले नगरबस सञ्चालन र व्यवस्थापन गरिने नगरप्रमुख भामको भनाई छ । ‘यात्रामा सहजता र उत्पादनको बजारीकरणमा पक्कै नगरबासीले लाभ लिनुहुनेछ । यो नितान्त सेवामुलक ढंगले सञ्चालन हुन्छ ।’ प्रमुख भामले अनलायन सरोकारसँग भने, ‘पालिकाले आफ्नो सेवा मार्फत प्रति व्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति तथा जेष्ठ नागरिकहरुलाई नगरबस संचालन कार्यविधि अनुसार भाडामा छुट दिने व्यवस्था गरेको छ । यसले स्थानीयले खेप्दै आएको यातायात सास्ती कम हुने ठानेका छौं ।’ नगर प्रमुख भामले आफ्नो चुनावी नारामा नगरबासीलाई  सहज यातायात पहुँचका लागि  पहल गर्ने प्रतिवद्धता अनुसार काम गरेको बताए । पाँच बर्षे कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको र अझै २ वटा थप गर्ने उनले बताएका छन् ।

सार्वजनिक सवारीसँगको प्रतिस्पर्धामा नभई नगरबासीको सेवामा नगरबस सञ्चालन हुने उनको भनाई छ ।

नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठवटा रुटमा नगर बसले सेवा दिने छ । नगरबस सेवा सञ्चालन गर्न नगरपालिकाले ८४ लाख रुपैयाँमा दुई वटा बस खरिद गरेको थियो ।

छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्ति मध्ये दुई बस्तिमा सडक पुगेको छैन । अन्यमा सडक पुगेपनि स्थानीयले निकै महंगो भाडादरमा यात्रा गर्न बाध्य बनेका थिए । नगर बस सञ्चालनमा ल्याएसँगै चर्को भाडादरको सास्तीबाट निकै राहत मिलेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

यसअछि जिपहरुले गमगढी देखी बाम गाँउसम्मको एकतर्फी भाडा नै प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने गरेको स्थानीयले बताए । नगरबसले भाडादर आधा गरेको छ । अब स्थानीयले गमगढी देखी बाम गाँउ सम्मको एकतर्फी यात्रा गर्दा ३०० रुपैयाँ मात्र तिर्नुपर्ने तथा अपाङ्ग भएकाहरुले कार्यविधि अनुसार छुट पाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले बताए ।

नगरबस सञ्चालनमा आएसँगै छाँयानाथ रारा नगरपालिका १३ र १४ वडाका सर्वसाधरण हर्षित भएका छन् । आफ्नो गाँउबाट सदरमुकाम जान आउजाउको १ हजार २ सय भाडातिर्दै आएका थिए ।  नगरबस संचालनमा आएपछि दुई तर्फी यात्रा ६ सयमा गर्न पाउँदा निकै सजिलो भएको छाँयानाथ–१३ की सरस्वती रावतले बताइन् ।

छाँयानाथ रारा नगरपालिका स्थानीयलाई नगर यातायात सेवा दिने जिल्लाकै पहिलो स्थानिय तह बनेको छ ।

छाँयानाथले सुरु गरेको नगरबस सेवा आसपासका स्थानीयले पनि उपभोग गर्न पाउने छन् ।

प्रकाशित मिति : २०८०, ८ मंसिर शुक्रबार ००:००  २ : ५० बजे