काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य उपचारको पहुँचमा ल्याउन सरकारका तर्फबाट वार्षिक १ लाख सम्मको उपचार खर्च व्यहोर्ने स्वास्थ्य बीमा कार्यक्रम स्थानीय सरकारले आफ्नो नीति कार्यक्रम अनुसार नै कार्यान्वयनमा ल्याएपछि गोकर्णेश्वरमा प्रभावकारी बनेको हो ।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा गोकर्णेश्वरका १३ हजार ५ सय २९ जनाले स्वास्थ्य बीमा कार्यक्रमबाट ८५ लाख ४६ हजार ३ सय ७० रुपैंयाको उपचार सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७८।०७९ देखि २०७९।०८० सम्म ३२ हजार ३ सय ७४ जनाले १ करोड ६२ लाख उनानब्बे हजार २ सय ९२ रुपैंया बराबरको सेवा लिएका थिए ।
नागरिकको स्वास्थ्य उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका विभिन्न अस्पतालसँग सम्झौता गरेर नगरबासीलाई विशेष छुटमा सेवा लिने व्यवस्था समेत मिलाएको छ । नगरअस्पताल सञ्चालन गरेर विशेषज्ञद्धारा दैनिक करिब ६ सय जनासम्मलाई सेवा दिइएको, स्वास्थ्य बीमा मार्फत उपचार हुने व्यवस्था मिलाइएको र नगरक्षेत्रका अस्पतलासँग सम्झौता नै गरेर विशेष छुट मिलाएकाले गोकर्णेश्वरबासीलाई १ रुपैंया पैसा नहुँदा पनि सफल उपचार हुने व्यवस्था मिलाएको नगरप्रमुख दिपक रिसालको भनाई छ । खर्च अभावमा कोही रोग पालेर बस्न वा उपचार अभावमा कसैले अकालमा मृत्युवरण गर्न नपर्ने मेयर रिसालले अनलाइन सरोकारसँग बताए ।
गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।