सिन्धुलीको मरिण गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । वालविवाह न्यूनिकरणका लागि मरिणले विवाह पूर्व अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था लागू गरेको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नं. २४६ मा वालविवाह जस्ता कानूनतः बर्जित एवं दण्डनीय कार्यलाई निरत्साहित गरी समुन्नत समाजको निर्माणका लागि शून्य सहनशीलता अपनाउने उल्लेख गरिएको थियो । उक्त नीतिलाई मरिणले यहि मंसिर महिनामा बाट लागू गरेको हो ।
विवाह अघि दुलाहा दुलहीको विवाह योग्य उमेर अनिवार्य रुपमा यकिन एवं प्रमाणित गराई सम्बन्धित वडा कार्यालयबाट विवाहका लागि अनुमति लिएर मात्र विवाह गर्नुपर्ने नियम लागू गरिएको गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले अनलाइन सरोकारसँग बताए । वालविवाह न्यूनिकरण र सभ्य समाज निर्माणमा यो व्यवस्था कोसेढुंगा सावित हुने अध्यक्ष मुक्तानको भनाई छ । विवाह अघि अनिवार्य सिफारिस लिनुपर्ने कार्यपालिकाको असोज २१ गतेको बैठकले निर्णय गरेको थियो ।
मरिणमा विवाह अघि जन्मदर्ता पेश गरेर वडाबाट विवाहको सिफारिस लिनुपर्ने र सोही सिफारिसका आधारमा विवाह दर्ता गरिने भएको छ ।
मंसिरपछि मरिणमा वडाबाट उमेर यकिन गरेर मात्रै विवाह गर्ने नीति पालिकाका ७ वटै वडामा कार्यान्वयनमा आइसकेको छ ।
वडाबाट विवाह योग्य उमेर यकिन गराउन २० वर्ष पुगेको हुनुपर्छ । २० वर्षमुनीका युवायुवतीले विवाह गरे वालविवाह ठहर्ने भएकाले कानून अनुसार दण्डसजाय हुने पालिकाले जनाएको छ ।