२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको तातोपानीका सबै परिवारको ‘घर बिमा’



जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाको सबै वडाका तीन हजार तीन सय घरधुरीकै बिमा गरेको छ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग घर बिमाको सम्झौता गरिएको हो।

पालिकाका कुनै घरधुरी नछुट्ने गरी तीन हजार तीन सय घरधुरीको एकमुस्ट बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। ‘विपत् आएर क्षति भइसकेपछि पालिकाले दिएको १०–१५ हजार राहतले कुनै आवश्यकता पूर्ति हुने देखिएन। सबैलाई थौरै–थोरै राहत दिनुभन्दा एकमुस्ट बिमा गरिदिएपछि नागरिक पनि ढुक्क, पालिका पनि ढुक्क। थोरै राहत दिने झन्झट नै हट्यो,’ उनले भने। त्यही राहत दिने रकमकै बिमामा लगानी गरिएको अध्यक्ष चौलागाईंले बताए। अब कुनै विपतबाट घर भत्किएको खण्डमा नागरिकले उचित राहत पाउने अपेक्षा गरिएको छ।

बाढीपहिरोपछि राहत वितरणमा ढिलाइ हुने, तथ्यांक संकलनमै महिनौँ बित्ने, तत्काल राहत नपाएको भन्ने गुनासो आउनेजस्ता समस्या रहेकाले घरको बिमा नै गरिदिएपछि सबै समस्याबाट मुक्त भइने अध्यक्ष चौलागाईंको भनाई छ ।

जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानीले पहिले घर बिमा कार्यक्रम ल्याएको हो। यद्यपि, अन्य पालिकाका केही घरहरूको बिमा भए पनि समग्र पालिकाकै घर बिमा गर्ने तातोपानी पहिलो बनेको छ।

घर बिमाका लागि पालिकाले प्रतिवर्ष करिब १५ लाख ३७ हजार आठ सय रुपैयाँ लगानी गर्नुपर्ने छ। बिमापश्चात् विपन्न नागरिकलाई बढी राहत हुनेछ।

पालिकाभरिकै घर बिमा गर्ने जुम्लामा तातोपानी पहिलो पालिका बनेको छ । तातोपानीका तीन हजार तीन सय घरधुरीले अब पाँच लाखबराबर क्षतिपूर्ति पाउनेछन्। जसका लागि प्रतिघरधुरी चार सय ६६ रुपैयाँका दरले पालिकाले प्रिमियम रकम तिरिदिनेछ ।

विमापश्चात् कुनै विपतबाट क्षति भएमा प्रतिपरिवार पाँच लाख क्षतिपूर्ति पाउने पाउनेछन्।

तातोपानीका ३३ सय घर थपिएसँगै जुम्लामा कुल चार हजार सात सय परिवारको घर बिमा गरिएको छ।

प्रकाशित मिति : २०८०, २९ मंसिर शुक्रबार ००:००  १२ : ०९ बजे