२०८१, १ आश्विन मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकहरूको आधार दर घट्यो, कुन बैंकले दिन्छन् सस्तो कर्जा ?



सञ्चालनमा रहेका २० मध्ये आठ वाणिज्य बैंकले पुसको लागि आधार दर सार्वजनिक गरेका छन्।

यसअनुसार अब पुसमा ऋणीहरूले कर्जामा अधिकतम ब्याजदर १३.४ प्रतिशत तिरे हुने भएको छ। मंसिरमा यी आठ बैंकबाट कर्जा लिनेले अधिकतम १४.०४ प्रतिशत तिर्नुपर्ने अवस्था थियो।

बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ। गत महिना राष्ट्र बैंकबाट पाइने सापटी सुविधाको ब्याज घटेसँगै बैंकहरूले पनि निक्षेपको ब्याज घटाएका थिए। निक्षेपको ब्याजदर घट्दा बैंकहरूको पुँजी स्रोतको लागत समेत घट्छ। यसले बैंकहरूको आधार दर समेत घट्न सहयोग पुग्छ।

मंसिरको तुलनामा बैंकहरूको आधार दर समेत घटेको छ। मंसिरमा यी बैंकहरूको आधार दर औसत ९.८८ प्रतिशत रहेकोमा पुसमा ९.६८ प्रतिशत छ। बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरको आधारमा औसत आधार दर निकाल्छन्। यसरी निस्कने आधार दर नै कर्जामा लागू हुन्छ।

बैंकहरूले आधार दरमा प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। बैंकहरूको मंसिरमा औसत अधिकतम प्रिमियम दर ४.१६ प्रतिशत रहेकोमा पुसमा यो ३.७२ प्रतिशत छ।

आठमध्ये राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याजदर सबैभन्दा कम छ। राष्ट्रिय वाणिज्य बैंकको कर्जामा अधिकतम ब्याजदर ११.६४ प्रतिशत छ। यसअघि पनि यही बैंकले सबैभन्दा कम ब्याजदरमा ऋण दिइरहेको थियो। सो समय बैंकले अधिकतम ११.८८ प्रतिशत ब्याजमा कर्जा दिइरहेको थियो।

पुसमा यी आठमध्ये सबैभन्दा धेरै ब्याजदर लिनेमा कुमारी बैंक छ। बैंकले १४.२८ प्रतिशतसम्म ब्याज लिने भएको छ।

मंसिरको तुलनामा भने कुमारी बैंकको ब्याजदर पनि घटेको हो। मंसिरमा कुमारी बैंकले १५.३९ प्रतिशतसम्म ब्याज लिएको थियो।

राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर २८ गतेदेखि पुस ३ गतेसम्मको पाँच दिनमा निक्षेप २४ अर्ब रूपैयाँ थपिएको छ।

मंसिर २८ मा बैंकिङ प्रणालीमा ६० खर्ब निक्षेप रहेकोमा पुस ३ गते यस्तो निक्षेप ६० खर्ब २७ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै यही अवधिमा बैंकहरूले जारी गरेको कर्जा १० अर्ब रूपैयाँले बढेको छ।

मंसिर २८ मा ४९ खर्ब ९२ अर्ब रूपैयाँ रहेको कर्जा पुस ३ गतेसम्म बढेर ५० खर्ब २ अर्ब रूपैयाँ पुगेको छ।  

प्रकाशित मिति : २०८०, ६ पुस शुक्रबार ००:००  ६ : ३८ बजे