२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासका एजेण्डा बोकेर कालिकोटको नरहरिनाथका जनप्रतिनिधि सिंहदरबारमा !

सुनथराली विमानस्थल सञ्चालन गर्न माग



कालिकोटको नरहरिनाथ गाउँपालिकाको जनप्रतिनिधिको टोली विकासका एजेण्डा बोकेर सिंहदरबार आइपुगेको छ । नेपालमा संघीयताको मर्मलाई ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भनेर व्याख्या गरिएपनि स्थानीय तहले विकास र समृद्धिका लागि संघ सरकारकै भरपर्नुपर्ने अवस्था दर्शाउँदै नरहरिनाथको सिंगो कार्यपालिका टिम नै सिंहदरबारमा विकास माग्न आइपुगेको हो ।

गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्ट, उपाध्यक्ष कमलकुमार शाह, प्रमुख प्रशासकी अधिकृत युवराज पौडेल र नरहरिनाथका सबै ९ वटै वडाका वडाअध्यक्षसहित ११ जनाको टोलीले सिंहदरमा पुगेर कालिकोटको विकासका योजना पेश गरिरहेको छ ।

नरहरिनाथका जनप्रतिनिधिले सिंहदरबारमा आएर कालिकोट जिल्लामा ४० वर्ष लगाएर निर्माण भएको जिल्लाको एकमात्र विमानस्थल सुनथराली विमानस्थल सञ्चालन गर्न माग गरेका छन् । ४ दशक अघिदेखि निर्माण भएर अलपत्र अवस्थामा रहेको  सुनथराली विमानस्थल आफुहरु निर्वाचित भएपछि कालोपत्रेसम्म गराउने काम सकाएपनि जहाज उड्ने टुंगो नभएपछि नियमित उडान गराउने प्रमुख माग बोकेर सिंहदरबार छिरेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । विमानस्थलमा नियमित उडान देखि कर्णालीको मुख्य प्रवेशद्धारमा पर्ने कालीकोटको नरहरिनाथको समग्र विकास र समृद्धिका एजेण्डा बोकर सिंहदरबार आएको उनको भनाई छ ।

विकासका एजेण्डा बोकेर राजधानी आएका नरहरिनाथका जनप्रतिनिधिलाई कालिकोटका विभिन्न  राजनीतिक दलका नेताहरुले साथ दिएका छन् ।

अधिकांश स्थानीय सरकार नियमित प्राप्त स्रोतको परिचालनमै मात्रै सिमित भइरहेको अवस्थामा कालिकोटको नरहरिनाथका जनप्रतिनिधिको सिंहदरबारलाई झस्काउँदै विकास बढाउने कार्यशैली निकै रोचक बनेको छ ।

यस्तो छ, सुनथराली विमानस्थलको कथा :

कालिकोट सडक सन्जालमा जोडिनुअघि नै २०४२ सालबाट कोटवाडाको सुन्थरालीमा विमानस्थल बन्न सुरु भएको थियो । जीवनबहादुर शाही पर्यटनमन्त्री छँदा २०७३ माघ २९ गते परीक्षण उडान भए पनि विमानस्थलमा नियमित उडान हुनसकेको छैन ।  नियमित उडान नभएपछि स्थानीय निराश भएका छन् ।

विमानस्थल निर्माणका क्रममा २०५८ सालमा धादिङका १७ जनासहित ३५ जना मजदुरलाई नेपाली सेनाले माओवादीका नाममा हत्या गरेको इतिहास छ । तीमध्ये १८ जना कोटबाडाकै बासिन्दा थिए । विमानस्थलमा जहाज चले आफन्त गुमाएको पीडामा मल्हम लाग्थ्यो कि भन्ने मृतकका परिवार सोच्छन् ।

सुनथराली विमानस्थल कालिकोटका बासिन्दाको सडकभन्दा पनि पुरानो सपना हो । सडक पुगे पनि भरपर्दो छैन । आपतकालीन स्वास्थ्य उपचारको खाँचो परेमा सडकको दुरावस्थाका कारण बाटैमा ज्यान गुमाउनुपर्ने अवस्था छ । नियमित जहाज उडान भएमा यो दुख पार लाग्ने स्थानीयको अपेक्षा छ । स्थानीयको माग र आवश्यकता बोकेर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्ट विमानस्थल सञ्चालन र नियमित उडानका लागि सकृय छन् ।

विमानस्थल निर्माणमा ४२ करोडभन्दा बढी बजेट खर्च भइसकेको छ । ६ सय ९० मिटर लामो धावनमार्गमा दुवैतर्फबाट अवतरण गर्न मिल्ने बनाइएको छ । सातामा एउटा उडान गर्न सकिने यहाँका जनप्रतिनिधिको दाबी छ ।

सदरमुकाम मान्मबाट तीन घण्टा लाग्ने विमानस्थल पुग्ने बाटो राम्रो छैन । करोडौं खर्चेर बनाइएको विमानस्थलमा उडान नियमित भयो भने कर्णाली र सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने छ । तर सञ्चालनमै आउन नपाई इतिहास बनेका देशका अन्य विमानस्थलकै जस्तो नियति यो विमानस्थलले पनि भोगिरहेको छ । समस्या सुल्झाउन र अवस्था बदल्न नरहरिनाथका जनप्रतिनिधिले पहल गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, १९ माघ शुक्रबार ००:००  ३ : ५५ बजे