२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यसम्पादनमा भोटेकोशीको उत्कृष्टता: स्थानीय तहमा पाचौं, गाउँपालिकामा दोस्रो



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा स्थानीय तहमा पाँचौ र गाउँपालिकामा दोस्रो बनेको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा भोटेकोशी गाउँपालिका देशभरिका ७५३ स्थानीय तहमा पाँचौ र ४६० गाउँपालिका मध्येमा दोस्रो बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित गाउँपालिका देशमै दोस्रो स्थानमा र ५३.७६ अंक सहित समग्र स्थानीय तहमा पाचौं बनेको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने आयोगको तथ्यांक महाशाखाका उपसचिव दिनेश भट्टराईले बताए । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको उनको भनाइ छ ।

उनका अनुसार कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गरिन्छ ।

कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ । चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौँथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौं, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंक सहित छैठौं, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौं, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंक सहित आठौं, सिन्धुपाल्चोककै पााचपोखरी थांपाल गाउँपालिका ४९.३६ अंक सहित नवौं र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंक सहित दशौं भएका छन् ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ । कुनै स्थानीय तहको तथ्यांक गलत भएको भए एकसाताभित्र समिक्षा गरी अन्तिम नतिजा सार्वजनिक गरिने छ ।

आयोगको मूल्याङ्कनले उत्साहित बनाएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । यसरी गरिने मूल्याङ्कनले स्थानीय तहमा हुने कार्यसम्पादन जनपक्षिय बनाउन सहयोग पुग्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ९ फाल्गुन बुधबार ००:००  ९ : ५४ बजे