गतवर्षको बाढीले वितण्डा मच्चाउँदा खण्डहर बनेको मुगुको खत्याड अझैं तंग्रिन सकेको छैन । २०७९ असोज १९ देखि २४ गतेसम्मको अभिरल वर्षापछिको बाढीका कारण उजाडिएको खत्याड अझै पुनर्निर्माणको पर्खाइमा छ ।
करिब १ साता लामो लगातारको बाढी पहिरोले ६ हजार ७ सय १५ रोपनी खेती योग्य जमिन बगरमा परिणत गर्यो, पाक्न लागेको झण्डै १६ हजार क्विन्टल अन्नबाली नष्ट भयो, ७ हजार ६ सय १० स्याउका बोट, ४ हजार ८ सय ३३ कागती सुन्तलाका बोट, १ हजार ७ सय ५९ केरा तथा मेवाका बोट बाढी पहिरोले बगायो, १ सय ३२ घर पूर्ण रूपमा क्षति भयो, ७ सय ५० घर आंशिक रूपमा क्षति भयो, ४ सय घर अति जोखिममा परे र १ सय ४ पशुचौपायाको मृत्यु भयो ।
गाउँपालिकाले निकालेको क्षतिको विवरण अनुसार ९९ वटा सिँचाइ कुलो, ७० वटा खानेपानी, ३७ वटा सडक, २४ वटा विद्यालय भवन, ४ वटा स्वास्थ्य चौकी भवन, ६ वटा विद्युत, २४ वटा पुल, ४९ वटा घट्ट, १४ वटा मन्दिर, २ वटा वडा कार्यादयका भवन लगायतको भौतिक संरचना बाढी पहिरोले बगाएर पूर्ण रूपमा क्षति भयो ।
यसरी बाढी पहिरोबाट ठुलो क्षति व्यहोरेको खत्याडलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संकटग्रस्त क्षेत्र पनि घोषणा गर्यो । तर सरकारले त्यो घोषणा बाहेक अरु केही गरेन । आकस्मिक रुपमा ठुलो प्राकृतिक प्रकोपको सामाना गर्न बाध्य भएको खत्याड गाउँपालिकामा आन्तरिक आय छैन । प्रदेश र संघ सरकारले समेत बजेट नदिँदा यहाँको दिगो विकासको सपना त बाढीले बगायो नै आधारभुत आवश्यकता समेत पुरा नभएको र खेती योग्य जमिन समेत बगरमा परिणत हुँदा गाउँमा उत्पादन र पुनर्निर्माणका काम नहुँदा पेट पाल्नको लागि हुँदा ४० प्रतिशत खत्याडका नागरिक भारतका विभिन्न ठाउँहरूमा मजदुरी गर्न भौंतारिरहेका छन्।
विनाशकारी बाढी पहिरोले अर्बौंको क्षति गर्दा पनि न प्रदेश र संघीय सरकारको ध्यानार्कषण नै भयो । न कुनै दातृ निकायको सहयोग मिल्यो । त्यति बेला यस क्षेत्रलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेपनी राहत, उद्धार, पुनर्निर्माण र पुनर्स्थापनाको लागि कुनै व्यवस्था भएको छैन । प्रदेश सरकार र संघीय सरकार समक्ष स्थानीय तहले पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ हुन नसकेको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीको भनाई छ ।
रारा ताल मुहान भएर खत्याड गाउँपालिकाका ११ वटा वडालाई सिँचित गर्दै करिब ३४ किलोमिटर दूरी पार गरी कर्णाली नदीमा मिसिने खत्याड खोला आसपासको क्षेत्रको सुन्दर खत्याड उजाड र खण्डहर बगरमा परिणत भयो । यो क्षेत्र जिल्लाकै अन्नको भण्डारका रूपमा कृषिमा आत्मनिर्भर थियो ।
स्थानीयका अनुसार खत्याड खोलामा योभन्दा पहिले वि.स. २०२८ सालमा ठूलो बाढी आएको थियो। २०७९ सालको बाढी २०२८ सालको भन्दा दोब्बर ठूलो हो । विपद्ले सताउने गरेपनि फेरि खत्याडको समृद्धि खत्याड किनारमै निर्भर छ । स्थानीय तहले पुनस्थापनाका काम गरेर खत्याडलाई समृद्ध बनाउने रचनात्मक योजना छ ।
११ वटा वडा र ५७ वटा बस्ती रहेको खत्याड गाउँपालिकामा गरिबी र कुपोषण भोकमारीको समस्या छ । खत्याडको पुनर्निर्माण र पुनर्स्थापनाका लागि तीनै तहका सरकारले योजनावद्ध काम गर्न आवश्यक छ ।